'चीनसँगको सम्बन्धमा असर नपर्ने'

  • 18 सेप्टेम्बर 2016
प्रचण्ड र सीता
Image caption प्रचण्डले आफ्नो भ्रमणसँगै नेपाल र भारतको सम्बन्ध थप सुदृढ भएको बताएका छन्।

प्रधानमन्त्री प्रचण्डले कतिपय अन्तर्राष्ट्रिय मुद्दामा साझा धारणा बनाएर अघि बढ्ने नेपाल र भारतबीचको समझदारीले अर्को छिमेकी मुलुक चीनसँगको सम्बन्धमा असर नपर्ने बताएका छन्।

पछिल्लो समझदारीसँगै नेपालको परराष्ट्र नीतिमाथि भविष्यमा भारतको प्रभाव पर्न सक्ने आशंका व्यक्त भइरहँदा भारतको राजकीय भ्रमणबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्यस्तो सम्भावनालाई ठाडै अस्वीकार गरे।

उनले आफ्नो भ्रमणबाट दुई मुलुकबीचको सम्बन्ध थप सुदृढ भएको समेत जिकिर गरे।

आफ्नो भ्रमणका क्रममा जारी गरिएको दुई देशको संयुक्त व्यक्तव्यमा उल्लेखित केही बुँदालाई लिएर विभिन्न खाले टीकाटिप्पणी भइरहेका बेला प्रधानमन्त्री प्रचण्डले भारतसँगको समझदारीको बचाउ गरे।

आयाम

चारदिने राजकीय भ्रमण पूरा गरी आइतबार दिउँसो काठमाण्डू ओर्लिएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुलाई सम्बोधन गर्दै नेपाल-भारतबीच मिलेका विषयमा सहकार्य गर्दै जाने परम्परा पहिल्यैदेखि रहिआएको बताए।

संयुक्त राष्ट्रसंघको स्थायी सदस्यका लागि भारतलाई सन् २००४ देखिनै नेपालले समर्थन गर्दै आएको दृष्टान्त अघि सार्दै उनले त्यस्ता विषयमा दुई मुलुकले साझा धारणा बनाउँदा अर्को छिमेकी देश चीनलाई असर नपर्ने बताए।

उनले भने, “पार्दैन। भारतसँगको सम्बन्धका नेपालका आफ्नै आयामहरु छन्, चीनसँगको सम्बन्धका आफ्नै आयामहरु छन्। ती आयामहरुको हाम्रो परिचालनले हाम्रो छिमेकीहरुसँगको सन्तुलित नीतिमा कुनैपनि असर पर्दैन।”

प्रधानमन्त्री प्रचण्डले दुई देशबीच विश्वासको वातावरण निर्माण गर्न र यसअघि सहमति भएका परियोजनाहरुको प्रभावकारी र शीघ्र कार्यान्वयनमा जोड दिनमा आफ्नो भ्रमण केन्द्रित रहेको दोहोर्याए।

भारतीय राष्ट्रपति तथा शीर्षस्थ नेताहरुसँगको द्विपक्षीय छलफलदेखि नेपालमा लगानी गर्नका निम्ति त्यहाँका व्यापारीहरुलाई आह्वान गरेको फेहरिस्त सुनाउँदै प्रधानमन्त्री प्रचण्डले आफ्नो भ्रमणबाट दुई देशबीच विश्वास बढाउन मद्दत पुगेको उल्लेख गरे।

सुदृढ

तस्वीर कपीराइट .

उनले थपे, “समग्रमा यस भ्रमणबाट नेपाल र भारतका बीच सदियौँदेखि रहिआएको घनिष्ठ, मैत्रीपूर्ण एवम् बहुआयामिक सम्बन्धलाई थप सुदृढ गर्न मद्दत गरेको मेरो विश्वास छ।”

प्रधानमन्त्री प्रचण्डले नेपाल-भारत सम्बन्धबारे समीक्षा र पुनरावलोकन गर्न तथा आगामी दिनमा चाल्नपर्ने कदमका बारे निर्णय लिन परराष्ट्रमन्त्रीस्तरीय संयुक्त बैठक यसै वर्षभित्र गर्ने सहमति भएको बताए।

यसअघिका प्रधानमन्त्रीहरुले झैं उनले पनि आफ्नो भ्रमण उपलब्धिमूलक भएको सन्देश दिन नछुटाएपनि कतिपयले भ्रमणका उपलब्धिबारे प्रश्न उठाएका छन्।

नेपालका विभिन्न परियोजनामा लगानी गर्ने, सहुलियतपूर्ण ऋण उपलब्ध गराउने लगायतका प्रतिबद्धता जनाउँदै आएको भारतले प्रचण्डको भ्रमणमा कुनै नौलो आयाम नथपेको विश्लेषकहरु बताउँछन्।