राज्य चुनावमा मर्केलको दललाई धक्का

  • 19 सेप्टेम्बर 2016
spd तस्वीर कपीराइट AP
Image caption उपचान्सलर जिकमार गाब्रियल नेतृत्वको सोसल डेमोक्रयाटिक पार्टी बर्लिनमा सबैभन्दा ठूलो दल बनेको छ।

जर्मनीमा बर्लिनको राज्य चुनावमा चान्सलर एंगेला मर्केलको दल क्रिश्चियन डेमोक्याटिक युनियनले नराम्रो धक्का बेहोरोको छ।

राष्ट्रिय चुनावको एक वर्षअगाडि मर्केलले अपनाएको खुला शरणार्थी नीतिले मतदाताहरुमा आक्रोश उत्पन्न गराएको विश्लेषकहरुले ठानेका छन्।

ऐतिहासिक

चान्सलर मर्केलप्रतिको आक्रोशको फाइदा आप्रवासनविरोधी नीति लिने पार्टीहरुलाई भएजस्तो देखिन्छ।

मध्यवामपन्थी सोसल डेमोक्र्याटससंग मिलेर बनाएको सत्तारुढ गठवन्धनबाट अब मर्केलको दल बाहिरिने ठानिएको छ।

तस्वीर कपीराइट Reuters
Image caption आप्रवासनविरोधी दल एएफडीले महत्वपूर्ण जित हात पारेको छ

आप्रवासनविरोधी दक्षिणपन्थी दल एएफडीले पहिलोपटक संसदमा प्रवेश पाउने भएको छ।

खराब

१० लाखभन्दा बढी शरणार्थीलाई जर्मनीमा प्रवेश दिने निर्णयपछि चान्सलर मर्केलको लोकप्रियता घट्दै गएको थियो।

उनको दलले १८ प्रतिशतभन्दा कम मत ल्याएको छ जुन परिणाम उक्त दलका लागि अहिलेसम्मकै खराब नतिजा हो।

२२ प्रतिशत मतसहित सोसल डेमोक्रयाटस् सबैभन्दा बलियो शक्तिका रुपमा स्थापित भएका छन् भने एएफडीले १४ प्रतिशतको हाराहारीमा मत ल्याएको छ।

एएफडीका उम्मेदवार गियोर्ग प्याजडरस्कीले भने, “शून्यबाट दोहोरो अंकमा पुग्नु अत्यन्तै अनौठो हो। यो बर्लिनमा पछिल्लो ६६ वर्षमा भएको थिएन र परिणामले विशाल गठवन्धनलाई सरकारबाट हटाएको छ”।

एएफडीले अर्को वर्ष हुने राष्ट्रिय चुनावका लागि आफू बलियो स्थानमा रहेको बर्लिनको चुनावले देखाएको टिप्पणी गरेको छ।