न्यूयोर्क हमलाका सन्दिग्ध पक्राउ

  • 19 सेप्टेम्बर 2016
तस्वीर कपीराइट WABC
Image caption प्रहरीले रहमीको खोजी गरिरहेका थिए

गत सप्ताहान्तमा न्यूयोर्क तथा न्यूजर्सी हमलाका सन्दिग्ध अहमद खान रहमीलाई पक्राउ गरिएको अमेरिकी अधिकारीहरुले जनाएका छन्।

अफगानिस्तानमा जन्मिएका २८ वर्षीय रहमीलाई प्रहरीले खोजी गरिरहेका थिए।

न्यूजर्सी राज्यको एलिजाबेथ नगरका मेयर क्रिस बलवेजले भने, एउटाप्रहरी कारवाहीमा रहमी पक्राउ परेका बताए।

गोली हानाहानमा रहमी र दुईजना प्रहरी अधिकारीहरु घाइते भएको पनि उनले बताए।

तस्वीर

यसअघि न्यूयोर्कका प्रहरीले गत शनिबार न्यूयोर्क शहरमा गराइएको बम विष्फोटकालागि जिम्मेवार रहेको ठानिएका रहमीको तस्वीर सार्वजनिक गरेका थिए।

ती विष्फोटमा २९ जना घाइते भएका थिए।

प्रहरीले सो विष्फोट भएको ठाउँ नजीकै फेला परेको एउटा पदार्थ र यसै सप्ताहान्तमा न्यू जर्सीमा गराइएको पाइप बम विष्फोट आपसमा संबन्धित रहे वा नरहेको भन्ने बारे छानबिन गरिरहेका छन्।

न्यूयोर्कका गभर्नर एन्ड्रयु कुओमोले ती बमहरु र अन्य विष्फोट नभएका विष्फोटक पदार्थहरु मिल्दोजुल्दो भएको पनि बताए।

उनले भने, यो आतंककारी समूहको काम हुनसक्छ र यसका पछाडि विदेशी संबन्ध रहेको पाइएमा उनी आश्चर्यचकित हुनेछैनन्।

यसअघि न्यूयोर्कका अधिकारीहरुले ती हमला अन्तर्राष्ट्रिय आतंकवादसंग संबद्भ भएको कुनै प्रमाण नपाइएको बताएका थिए।

अधिकारीहरुका अनुसार न्यूजर्सी रेलवे स्टेशन नजीकै फोहोर फ्याँक्ने एउटा भाँडो भित्र छाडिएको पछाडि भिर्ने एउटा झोलामा सो बम फेला परेको थियो।

न्यूजर्सी राज्यको एलिजाबेथ नगरका मेयर क्रिस बलवेजले भने, "त्यही बाटो गैरहेका दुईजना पुरुषहरुले त्यो झोला भित्र कुनै मूल्यवान सामान छ कि भन्ठानेर त्यसलाई बाहिर झिके र पुल मुनी गएर त्यसलाई खोले। तर त्यहाँ पाइप र तारहरु देखेपछि झोला त्यही छाडेर उनीहरुले प्रहरी मुख्यालयमा गएर सूचना दिए।"

विष्फोट

त्यसपछि प्रहरीको बम नियन्त्रण टोलीसंग रहेको रोबोटले उक्त विष्फोटक पदार्थको जाँचबुझ गर्दैगर्दा सो पदार्थ विष्फोट भएको थियो।

तर कसैलाई चोटपटक लागेन।

शनिबार राती म्यानहटनको चेल्सी क्षेत्रमा एउटा प्रेसर कुकर बम विष्फोट गराईंदा कम्तीमा २९ जना घाइते भएका थिए।

नजीकै फलामे सुइराहरु राखिएको घरमै बनाइएको जस्तो देखिने अर्को विष्फोटक पदार्थ पनि फेला परेको थियो।

शनिबार बिहान कल्याणकारी उद्देश्यकालागि आयोजित एक दौड अगाडि बढ्ने बाटोमा एउटा पाइप बम विष्फोट भएपछि दौड नै रद्द गरियो, तर कसैलाई चोटपटक लागेन।

न्यूयोर्क शहर भरि थप एक हजार जना सुरक्षाकर्मीहरु तैनाथ गरिएको छ।