संविधान संशोधनबारे सरकार 'गम्भीर’

  • 19 सेप्टेम्बर 2016
प्रचण्ड तस्वीर कपीराइट AFP
Image caption प्रचण्डले संविधानको अर्को संशोधन हुने समयावधी खुलाइसकेका छैनन्।

संघीय गणतन्त्र नेपालको संविधान जारी भएको पहिलो वर्षगाँठमा आयोजित संविधान दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई केन्द्रित दल तथा अन्य असन्तुष्ट समूहका माग पूरा गर्न गम्भीरतापूर्वक काम भइरहेको बताएका छन्।

तर उनले असन्तुष्ट पक्षका गुनासा समेट्दै संविधानको अर्को संशोधन हुने समयावधि भने खुलाएनन्।

काठमाण्डूको सैनिक मञ्च टुँडिखेलमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको पहिलो संविधान दिवसको औपचारिक समारोहको तामझाम सकिएलगत्तै प्रधानमन्त्री प्रचण्डले आफ्नो सम्बोधनको क्रममा भने, "कुनै पनि देशमा संविधान जारी हुने बित्तिकै पूर्ण भएका उदाहरण छैनन्।"

'गतिशील'

“विश्वका कुनै पनि संविधान एकैचोटि पूर्ण भएका छैनन्, समय-समयमा हुने संशोधनबाट संविधान परिष्कृत र परिपक्व हुँदै जाने हो। नेपालको संविधान पनि गतिशील र जीवन्त दस्तावेज हो,” प्रचण्डले भने।

पोहर साल असोज ३ गते संविधान जारी हुने बित्तिकै त्यसको चर्को विरोधमा उत्रिएका संघीय गठबन्धनमा आबद्ध तराई केन्द्रित दल र अन्य समूहहरु अझै शान्त भइसकेको छैनन्।

सो गठबन्धनले प्रचण्ड प्रधानमन्त्री चुनिनुअघि नेपाली कांग्रेस र माओवादी-केन्द्रसँग भएको तीन-बुँदै सहमति कार्यान्वयन गराउन सरकारमाथि लगातार दबाब दिइरहेको छ।

प्रधानमन्त्रीले ती मध्ये केही माग सम्बोधन भइसकेको र अब सीमांकन पुनरावलोकन लगायतका माग सम्बोधन गर्दै संविधान संशोधनको प्रक्रिया अघि बढ्ने संकेत दिए।

चुनौती

संविधान कार्यान्वय गर्ने दिशामा सरकारसामु अबको १६ महिनाभित्र स्थानीय, प्रादेशिक र संसदको निर्वाचन गर्ने चुनौती छर्लङ्ग रहेको प्रचण्डले बताए।

“संघीयतातर्फको संक्रमणको व्यवस्थापनको सन्दर्भमा ७ माघ २०७४ भित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन गरिसक्नुपर्ने अनिवार्य कार्यभार संविधानले हामी सबैलाई दिएको कुरा ज्यादै नै महत्वपूर्ण छ,” उनले भने।

संविधान कार्यान्वयन गर्न र चुनाव सम्पन्न गराउनका लागि सरकारले आवश्यक कानुनको निर्माण गरिरहेको बताउँदै प्रचण्डले तीन तहको चुनाव गर्ने वातावरण बनाउन सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गरे।

संविधानको स्वीकार्यताको दायरा फराकिलो बनाउने चुनौतीमाझ संविधान दिवसकै दिन डाकिएको एक सर्वदलीय बैठक भने दलहरुका प्राथमिकता बाझिएकोले स्थगित हुन पुग्यो।

त्यस्तै प्रधानमन्त्रीका एकजना सल्लाहकारले देशभित्रकै प्राथमिकतामा ध्यान केन्द्रित गर्नका लागि प्रचण्डले राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका जाने कार्यक्रम समेत रद्द गरेको जनाएका छन्।