सहायता सामग्री बोकेका गाडीमाथि हवाई हमला

  • 20 सेप्टेम्बर 2016
तस्वीर कपीराइट Reuters
Image caption सिरिया सरकारले अहिलेसम्म हवाइ हमलाबारे कुनै प्रतिक्रिया जनाएको छैन

सिरियाको एलेप्पो सहर नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा सहायताका लागि गएको गाडीको लस्करमाथि हवाई हमला भएको छ।

यो हमला सिरियाको सेनाले एकसाता लामो युद्धविराम अन्त्यको घोषणा गरेको केही घण्टामा नै भएको हो।

पुष्टि हुन बाँकी एउटा समाचार अनुसार उर्म अल कुब्र नगर नजिकै भएको हमलामा १२ जनाको ज्यान गएको छ।

हिंसात्मक

संयुक्त राष्ट्रसंघका विशेष दूत स्टाफान ड मिस्टुराले उक्त हवाई हमलालाई हिंसात्मक भनेका छन्।

समाचार संस्था रोयटर्सलाई इमेल गरिएको एउटा विज्ञप्तिमा उनले सहायताका लागि पठाइएका ती गाडीको लस्कर, एक्लिएका नागरिकलाई सहायता गर्न गरिएको लामो प्रकृयाको परिणाम भएको बताए।

एलेप्पोबाट विद्रोहीको नियन्त्रणमा रहेको विकट बस्तीमा ती गाडीले सहायता सामग्री पुर्याउने आफ्नो नियमित काम गरिरहँदा पछिल्लो घटना भएको सिरियन रेड क्रेस्सेन्टले बताएको छ।

अभियान समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले रुस वा सिरियाको युद्धविमानबाट हमला हुँदा, सहायताकर्मी र ट्रक चालक गरेर १२ जनाको ज्यान गएको बताएको छ।

सिरिया सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन।

आरोप

संयुक्त राष्ट्रसंघको मानवीय सहायतासम्बन्धी विशेष सल्लाहकार यान इगलाण्डले उक्त हवाई हमलाबारे प्रतिक्रिया जनाउँदै भने, "यो पूर्ण रुपमा व्याख्या नै गर्न नसकिने खालको घटना हो किनभने हिंसा कम गर्ने प्रक्रिया अन्तर्गत यो भएको थियो, जसको अर्थ हुन्छ, हतियार बोकेका दुबै पक्ष यसबारे जानकार थिए।"

एकजना प्रत्यक्षदर्शीले सिरियन रेड क्रेस्सेन्टको उर्म अल कुब्रस्थित केन्द्रमा राखिएका लरीमा करिब पाँचवटा क्षेप्यास्त्र हमला भएको रोयटर्सलाई बताएका छन्।

उक्त क्षेत्रमा करिव ७८ हजार मानिसहरु सहायताको आवश्यकतामा छन्।

एक साता अघि रुस र अमेरिकाको पहलमा भएको युद्धविरामको मुख्य विषय घेराबन्दीमा रहेका क्षेत्रमा सहायता सामग्री पुर्याउने भन्ने थियो।

तर सिरियाली फौज र विद्रोही दुबैले युद्धविरामको उल्लंघन गरेको आरोप एकअर्काप्रति लगाएका छन्।