अलेप्पो शहर र वरपर भीषण हवाई हमला

  • 21 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP

सिरियामा भंग भएको युद्धविराम सम्झौतालाई पुन: स्थापित गर्न राष्ट्रसंघीय सुरक्षा परिषद्ले छलफल गर्दै गर्दा अलेप्पो शहर र वरपर भीषण हवाई हमला भएको छ।

अभियानकर्ताहरुका अनुसार अलेप्पो शहरको विद्रोही नियन्त्रित क्षेत्रमा गएराति दर्जनौं हवाई हमलाहरु भएका थिए।

विद्रोहीहरुले भने उक्त विभाजित शहरको पश्चिमस्थित सरकार नियन्त्रित क्षेत्रमा गोलाबारी गरेका छन्।

अलेप्पो शहर नजिकैको ग्रामीण इलाकामा अवस्थित स्वास्थ्य केन्द्रमा भएको हवाई हमलामा नर्सहरुसहित एक अन्तर्राष्ट्रिय सहायता निकायका पाँचजना कर्मचारीहरुको मृत्यु भएको बताइएको छ।

निशाना

विद्रोही नियन्त्रित कान टोउमानमा स्थानीय समय अनुसार मंगलबार राति अबेरतिर भएको सो हमला कसले गरेको हो भन्ने स्पष्ट भइसकेको छैन।

हवाई हमलाले एउटा चिकित्सा परीक्षण केन्द्रलाई निशाना बनाउँदा दुईजना एम्बुलेन्स चालक र दुईजना नर्सहरुको ज्यान गएको छ।

तिनीहरु उक्त स्वास्थ्य केन्द्रमा रहेका घाइतेहरुलाई सुविधा सम्पन्न अन्य स्वास्थ्य केन्द्रमा लैजान त्यहाँ पुगेका बताइएको छ।

पाँचौं व्यक्तिको पछि चोटका कारण मृत्यु भएको थियो।

उक्त स्वास्थ्य केन्द्रको भग्नावशेषमा अरु मानिसहरु पनि पुरिएका हुनसक्ने ठानिएको छ।

संलग्नता

तस्वीर कपीराइट AP

त्यस क्षेत्र नजिकै राहत सहायता बोकेका सवारी साधनहरुको जत्थामा हवाई हमला भएको एकदिन पछि त्यस्तो घटना भएको छ।

अमेरिकाले रुसलाई दोष दिएको उक्त हमलाका क्रममा २० जनाको ज्यान गएको थियो।

रुसले त्यसमा आफ्नो वा सिरियाली सैन्यको कुनै संलग्नता नरहेको भन्दै उक्त घटनाका लागि जमिनबाट लागेको आगो जिम्मेवार रहेको हवाई हमला होइन भनेको छ।

सोमबारको हमलापछि संयुक्त राष्ट्र संघले सिरियामा आफ्ना सबै राहत ढुवानी अभियान स्थगित गरिदिएको थियो।

बुधबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले सिरियामा भंग भएको युद्धविरामलाई पुन: लागू गराउने प्रयासमा छलफल गरिरहेको छ।