‘वैशाख १ मा मेलम्चीको पानी ल्याउन कठिन’

  • 24 सेप्टेम्बर 2016
मेलम्ची तस्वीर कपीराइट .
Image caption मेलम्ची नदीको २७ किलोमिटर सुरुङ मध्ये अहिलेसम्म २० किलोमिटर सुरुङ खनिसकिएको बताइएको छ।

शुक्रबार मेलम्ची खानेपानी आयोजनाको भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले मेलम्ची खोलाको पानी आगामी नयाँ वर्षको अवसरमा काठमाण्डू पुर्याइदिन आग्रह गरेपनि मेलम्चीको सुरुङ खन्ने काम त्यति बेलासम्म सम्पन्न गर्न कठिन हुने मेलम्ची आयोजनाका एक उच्च अधिकारीले बताएका छन।

मेलम्चीको २७ किलोमिटर मध्ये २० किलोमिटर सुरुङ खनिसकिएको भएपनि बाँकी सुरुङ खन्न अझै नौ महिना लाग्ने र सुरुङभित्रको बाँकी काम सक्न थप तीन महिना लाग्ने मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षणको क्रममा शुक्रबार सिन्धुपाल्चोक टिम्बु नजिकै मेलम्चीको मुहान क्षेत्र पुगेका प्रधानमन्त्री प्रचण्डले मेलम्चीको पानी आउने नयाँ वर्षमा राजधानीबासीलाई उपहार दिन आयोजनाका प्राविधिक तथा अधिकारीहरुलाई आग्रह गरेका थिए।

'गौरव'

मेलम्चीमा बोल्दै प्रचण्डले भने, “एउटा नयाँ उत्साह दिन सक्ने राष्ट्रिय गौरवको आयोजना भएकोले सरकारले यसलाई प्रामथिकतामा राखेर अनुगमन गर्नेछ।”

तर विविध प्रतिकूलतामाझ सुरुङ खन्ने बाँकी काम भइरहेकाले त्यति छिट्टै आयोजना सम्पन्न गर्न सम्भव नहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईले बीबीसीलाई बताए।

“प्राविधिकहरुले खन्दै जाँदा चट्टानसंगै हिलो भएको खण्डहरु छिचोलिरहेका छन्। त्यसले गर्दा सुरुङ निर्माण कार्यमा चुनौती थपिएका छन् र छिटो सक्न कठिन भईरहेको छ।"

उनका अनुसार सात स्थानबाट सुरूङ खन्ने काम जारी रहेको छ र हरेक महिनामा करिब ९०० मिटर जति सुरुङ खन्ने काम भइरहेको छ।

करिब २३ अर्ब रुपैयाँ लागतको मेलम्ची आयोजनाको सुरुङ खन्ने काम अहिले एक इटालेली ठेकेदार कम्पनी सीएमसी गरिरहेको छ।

उनका अनुसार २०७४ सालको असारसम्ममा सुरुङ खन्ने काम सकिनेछ।

योजना

Image caption मेलम्चीको पानी काठमाण्डू झरेलगत्तै प्रशोधनपछि वितरण प्रणालीमा पठाउने तयारी चलिरहेको छ।

त्यसपछि सुरुङ भित्रको निर्माणको काम सक्न केही महिना लाग्नेछ र २०७४को असोजसम्ममा अन्तत: काठमाण्डूको सुन्दरीजलमा बहुप्रतिक्षित मेलम्चीको पानी झर्नेछ।

विभिन्न दातृ निकायको आर्थिक सहयता रहेको आयोजनाको काम झण्डै दुई दशकअघि २०५५ सालमा शुरु भएको थियो।

मेलम्ची आयोजनाको काम पूरा भएपछि काठमाण्डूमा दैनिक १७ करोड लिटर थप पानी आउने अधिकारीहरुको भनाइ छ।

मेलम्चीको पानीलाई सुन्दरीजलस्थित दुई प्रशोधन केन्द्रबाट काठमाण्डू उपत्यकाबासीका धारा-धारामा पुर्याउने योजना छ।

त्यसका लागि सातवर्ष अघि नै नयाँ पाइप बिछ्याउँदै पानी वितरण प्रणाली सुधार गर्न छुट्टै आयोजना कार्यान्वयन शुरु भएको थियो।