सिरियामा लडाइँ तीव्र पार्ने घोषणा

  • 23 सेप्टेम्बर 2016
तस्वीर कपीराइट Reuters
Image caption हालैका गोलाबारीमा ज्यान गुमाउनेहरु मध्ये महिला र बालबालिका भएको ठानिएको छ

सिरियाको सेनाले एलेप्पोको विद्रोही नियन्त्रित क्षेत्रलाई पुन आफ्नो कब्जामा लिनका लागि लडाइँलाई तीव्र पार्ने घोषणा गरेको छ।

एलेप्पोको उक्त क्षेत्रमा अढाई लाख मानिसहरु घेराबन्दीमा बाँचिरहेका छन्।

विद्रोही नियन्त्रित पूर्वी एलेप्पोमा केही दिन तीब्र गोलाबारी भएपछि यो घोषणा आएको हो।

एकसाता लामो युद्धविराम भंग भएसँगै बुधबार राति एलेप्पो सहरको विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा विमानमार्फत गोलाबारी गरिंदा त्यहाँ कम्तीमा १३ जनाको ज्यान गएको बताइएको छ।

कब्जा

सिरियाका सरकारी सञ्चारमाध्यमले सेनाका अधिकारीलाई उद्धृत गर्दै एलेप्पो सहरको पूर्वी भेगका मानिसलाई उसकै शब्दमा आतंकवादीको कब्जामा रहेको क्षेत्रमा नजान आग्रह गरेको जनाएको छ।

उक्त क्षेत्र छाड्न चाहने नागरिक र विद्रोहीलाई पनि त्यहाँबाट निस्कने ठाउँहरु तोकिएको बताइएको छ।

छिमेकी लेबननमा रहेका बीबीसीका जेम्स लङम्यानले भने, "नयाँ आक्रमणमा जमीनमा रहेका सैन्य दल सामेल हुन्छन् कि हुँदैनन् भन्ने स्पष्ट भएको छैन। तर सरकारले उसकै शब्दमा यदि एलेप्पोका सर्वसाधारण र विद्रोही लडाकुहरुले चाहे उनीहरुलाई त्यहाँबाट निस्कनका लागि ठाउँहरु तोकिने बताएको छ।"

हालैका गोलाबारीमा ज्यान गुमाउनेहरु मध्ये महिला र बालबालिका भएको ठानिएको छ।

केही रिपोर्टहरुका अनुसार मृत्यु हुनेको संख्या ४५ भन्दा बढी छ।

सिरियामा भंग भएको युद्धविरामलाई पुन लागु गराउने विषयमा न्यूयोर्कमा रुस र अमेरिकाबीच भएको वार्ता विना कुनै प्रगति टुंगिएको छ।

थप परामर्श

रुसले सिरियाली सरकार र अमेरिकाले सरकारविरुद्ध रहेका कतिपय विपक्षी समूहलाई सहयोग गरेका छन्।

अमेरिकी विदेशमन्त्री जन केरीले शान्तिका लागि ढोका खोल्न प्रयास गर्ने वासिङ्टनमात्रै एक्लो हुन नसक्ने बताएका छन्।

रुसले सिरियाली सरकारलाई उसका लडाकू विमानहरु जमीनमै राख्न दबाब देओस् भन्ने अमेरिका चाहन्छ।

केरीले युद्धविराम फेरि लागु गराउने विषयमा शुक्रबार रुसी टोलीसँग थप परामर्श गर्ने बताएका छन्।

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले सिरियाले त्यसो गर्दा लडाइँ एकतर्फी रुपमा मात्रै रोकिने भन्दै विपक्षीहरुले पनि लडाइँ बन्द गर्नुपर्ने बताए।

सिरियाका लागि संयुक्त राष्ट्रसंघका दूत स्टाफान ड मिस्टुराले न्यूयोर्कमा भएको बैठक निकै लामो, पीडादायी र निराशाजनक भएको बताएका छन्।