भाषा विवाद अन्त्य गर्न 'कार्यदल'

  • 24 सेप्टेम्बर 2016
Image caption नेपाली भाषाको वर्णविन्यासको नयाँ व्यवस्था अनुरुपको नयाँ शब्दकोश तयार भैसकेको बताइएको छ

नेपाली भाषाको वर्णविन्यास र हिज्जेबारे उत्पन्न विवाद समाधान खोज्न दुई हप्ताभित्रै कार्यदल गठन गर्ने तयारी भइरहेको शिक्षामन्त्री धनिराम पौडेलले बताएका छन्।

मन्त्रालयका उच्च अधिकारीको नेतृत्वमा बन्ने कार्यदलमा भाषाविद् र भाषाशास्त्रीहरु सहभागी गराइने र समस्याको समाधान खोजिने उनले बताए।

पछिल्लो विवादको जड बनेको वर्णविन्यासमा परिवर्तन गर्ने निर्णय सदर गरेका तत्कालीन शिक्षामन्त्री दिननाथ शर्माले त्यसबेला त्रुटि भएको स्वीकार गर्दै तत्काल सच्याइनुपर्ने बताएका छन्।

अहिलेको मुख्य विवाद संयुक्त अक्षरलाई सरल बनाउने नाममा खुट्टा काटेर लेख्ने भन्ने २०६९ सालको निर्णयबाट उब्जेको छ।

कार्यदल

निर्णयको पक्षमाभन्दा विपक्षमा चर्को मत प्रकट भइरहेको छ।

शनिबार पनि त्रिभुवन विश्वविद्यालय पद्मकन्या क्याम्पस काठमाण्डूका नेपाली भाषाका प्राध्यापकहरुको ठूलै समूहले पछिल्लो निर्णयले नेपाली वर्णविन्यास भत्काएको भन्दै त्यसको विपक्षमा विज्ञप्ती जारी गरेका छन्।

शिक्षामन्त्री पौडेलले अब दुवै पक्षका भनाई सुन्ने र समाधान खोजिने बताएका छन्।

उनी भन्छन्, "मन्त्रालयका पुराना फाइलको अध्ययन भइरहेको छ। सतहमा आएका विवादलाई नजिकबाट हेरिरहेका छौं र यसलाई चाँडै नै मन्त्रालयका आधािकरिक व्यक्तिको नेतृत्वमा अन्य क्षेत्रका पनि प्रतिनिधि रहने गरी निकासमा लगिनेछ। दुई हप्ताभित्रै कार्यदल गठन हुनेछ। कार्यदलले करिब एक महिनामा प्रतिवेदन पेश गर्नेछ। "

पूर्व शिक्षामन्त्री दिननाथ शर्माले आफ्ना पालामा त्रुटि भएको स्वीकारेका छन्।

उनी भन्छन् "त्रुटि भएको छ। त्यसलाई सच्याउनुपर्छ। भाषाको सहमति कायम गर्नका लागि शिक्षा मन्त्रालयले पहल गरेर भाषाविज्ञहरुको भाषाशास्त्रीहरुको राष्ट्रिय गोष्ठी गर्नुपर्छ।"

आत्मालोचना

शर्माले आफूले उक्त फाइल चार महिनासम्म रोकेको तर विरोधमा कोही नआएपछि अन्तिममा निर्णय गरेको बताए।

त्यस बेलाको दृश्य उल्लेख गर्दै उनी भन्छन्, "केही स्वार्थहरु पनि जोडिएको थियो कि भन्ने अहिले फर्केर हेर्दा त्यस्तो लाग्छ। किनभने हेमाङ्गजीहरु, प्रज्ञा प्रतिष्ठानका मान्छेहरु किन त्यसरी लागे ? निर्णय गराउन त्यत्रो दवाव त्यहाँ सृजना गरे। सबै फेर्नुपर्छ भन्ने भन्ने मान्छेहरु शिक्षा मन्त्रालयमा पुगे। "

नेपाली भाषाको हिज्जेबारे लामो समयदेखि विवाद रहँदै आएको छ।

झर्रोवादको नाममा दशकौं अघि हिज्जे परिवर्तन गराएका मुख्य नायकहरुले आफूले गल्ती गरेको भन्दै आत्मालोचना गरिसकेका छन्।

यसबीचमा नेपाली भाषा शुद्ध कसरी लेख्ने भन्नेबारे अनौपचारिक पहल भएका छन्।

औपचारिक पहलका लागि मानक संस्था प्रज्ञा प्रतिष्ठान र भाषा विभाग दुवै विवादमा परेका छन्।

त्यसैले नेपाली भाषाको हिज्जे र वर्णविन्यासको समस्याको समाधान स्वतन्त्र र निष्पक्षरुपमा गरिनुपर्ने माग उठेको छ।