हमला तीव्र भएपछि अलेप्पोमा पानीको संकट

  • 24 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AFP
Image caption स्रोतका अनुसार शुक्रबार भएको हवाइ हमलामा ९० भन्दा बढी मानिसहरुको ज्यान गएको छ

संयुक्त राष्ट्रसंघको बालबालिकासम्बन्धी संस्थाले भनेको छ, सिरियाको अलेप्पो शहरमा भएको भीषण आक्रमणले गर्दा त्यहाँका करिब २० लाख मानिसलाई पानीको अभावमा भएको छ।

राष्ट्रसंघको बालबालिकासम्बन्धी संस्था युनिसेफले भनेको छ, शहरको विद्रोही नियन्त्रित पूर्वी भेगमा पानी आपूर्ति गर्ने पम्पमा क्षति भएको छ।

सिरियाको अलेप्पो शहरमा हिंसा जारी हुँदा त्यहाँको पानी तान्ने पम्पको मर्मत पनि हुनसकेको छैन।

त्यसैको प्रतिशोधमा अलेप्पोको पश्चिमी भेगमा आपूर्ति हुने पानीको पम्पलाई पनि बन्द गरिएको छ।

आरोप प्रत्यारोप

सिरियाको सेनाले विद्रोही नियन्त्रित क्षेत्रलाई पुन: आफ्नो कब्जामा लिनका लागि हवाई हमला तीव्र पार्ने घोषणा गरेसँगै त्यहाँ निरन्तर गोलाबारी चलिरहेको छ।

यसैबीच अमेरिका र रुसले सिरियामा आ-आफुले समर्थन गरेका लडाकू समूहलाई नियन्त्रण गर्न विफल भएको आरोप एकअर्कालाई लगाएका छन्।

ह्वाइट हाउसका प्रवक्ताले युद्धविरामका लागि सिरियाली सरकारलाई मनाउन मस्को जिम्मेवार रहेको बताएका छन्।

तर रुसका विदेशमन्त्री सेर्गेइ लाभ्रोभले भने अमेरिकी नेतृत्वको गठबन्धनसम्बद्ध सिरियाका विपक्षी समूहलाई उसले नियन्त्रण गर्न सकेको आफुले अहिलेसम्म देख्न नपाएको बताए।

उनले पश्चिमा राज्यहरुको लापरबाहीयुक्त नीतिकै परिणामस्वरुप मध्यपूर्वले उनकै शब्दमा रक्तपात बेहोरिरहेको बताए।

तर उनले सिरियामा हिंसा अन्त्य गर्नेबारे अन्य कुनै विकल्प नभएको भन्दै रुस र अमेरिकाको योजनालाई बचाउनुपर्ने बताएका छन्।

मतभेद

अलेप्पोको उत्तरी सहरमा विद्रोही नियन्त्रित क्षेत्रलाई पुन: कब्जा गर्न प्रतिबद्ध देखिएका सिरियाली सेनाले एकोहोरो हवाइ हमला गरेको एक दिनपछि बोल्दै लाभ्रोभले संयुक्त राष्ट्रसंघलाई यस्तो बताएका हुन्।

अमेरिका र रुसको पहलमा सिरियामा भएको एकसाता लामो युद्धविराम सोमबार भंग भएको थियो।

लाभ्रोभले, अमेरिका आफुले समर्थन गरेको विद्रोही समूहलाई नियन्त्रण गर्न चुकेको आरोप लगाएका छन्।

युद्धविरामको मुख्य शर्त अमेरिकाको समर्थन रहेको विद्रोही समूहलाई सेनासँग छुट्याउनका लागि मध्यस्थता गर्ने भन्ने रहेको उनले बताए।

अमेरिकी विदेशमन्त्री जन केरीले आफुले लाभ्रोभलाई भेटेको र सिरियाबारेको मतभेदलाई सुल्झाउने विषयमा केही प्रगति भएको बताए।

उनले केही उपायहरुलाई रचनात्मक तरिकाले मूल्यांकन गरिरहेको बताए।