अफ्रिकी अमेरिकी इतिहासबारे संग्रहालय

  • 25 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AP
Image caption हाल अमेरिकामा भएका जातीय तनावका बहसलाई संग्रहालयले पृष्ठभूमि प्रदान गर्ने बताइएको छ

अमेरिकाका प्रथम अश्वेत राष्ट्रपतिले देशको पहिलो अफ्रिकी अमेरिकी इतिहास संग्रहालयको वाशिंगटन डिसीमा औपचारिक उदघाटन गरेका छन्।

करिब ५४ करोड डलरको खर्चमा बनाइएको उक्त संग्रहालयले स्वतन्त्रता तर्फको साझा यात्रा दर्शाउने उनले बताए।

ब्रिटिश आर्किटेक्ट डेभिड आजेले डिजाइन गरेको उक्त संग्रहालयको भवन वाशिंगटन नेशनल मलको परिसरमा रहेको छ।

उदघाटनका बेला ओबामा सहित पूर्व राष्ट्रपति जर्ज डब्लु बुशपनि थिए, जसले सन् २००३ मा उक्त संग्रहालय निर्माण सम्बन्धी कानुनमा हस्ताक्षर गरेका थिए।

पृष्ठभूमि

उक्त समारोहमा बोल्दै राष्ट्रपति ओबामाले अफ्रिकी अमेरिकीहरुको इतिहास अमेरिकी कथाको किनारामात्र नभई केन्द्रिय पक्ष हो भनेका छन्।

त्यहाँ बोल्दै उनले हालै अमेरिकामा अश्वेत नागरिकहरु विरुद्ध प्रहरी गोली प्रहारका घटनाहरुको पनि उल्लेख गरे।

अहिले प्रहरीले एक अश्वेत पुरुषमाथि गोली प्रहार गरेको घटनाका कारण शारलट शहरमा तनाव भइरहेको छ।

त्यसैको परिप्रेक्ष्यमा ओबामाले अमेरिकामा जातीय तनावबारे हाल भइरहेका बहसलाई यस संग्रहालयले पृष्ठभूमि प्रदान गर्ने बताए।

“संग्रहालय हेर्न आउने श्वेत पाहुनाहरुलाई फर्गुसन वा शार्लटका प्रदर्शनकारीहरुको पीडा र आक्रोश बुझ्न मद्दत पुग्छ,” उनले भने।

सो संग्रहालयमा करिब ३६ हजार सामाग्रीहरु रहेका छन्।

अफ्रिकाबाट दास किन्न प्रयोग गरिएका व्यापारिक वस्तु देखि लिएर सन् १९२० ताका श्वेत र अश्वेतका लागि छुट्टाछुट्टै बस्ने स्थान भएको रेलका डिब्बा संग्रहालयमा राखिएका छन्।