मानवीय सहायता मार्ग खोल: डब्लुएचओ

  • 27 सेप्टेम्बर 2016
तस्वीर कपीराइट .

सिरियाली शहर अलेप्पोको मध्यक्षेत्रमा लडाइँ चर्कंदै जांदा विश्व स्वास्थ्य संगठनले विद्रोही नियन्त्रित पूर्वी बस्तीबाट घाइतेहरुको उद्धारका लागि जरुरी मानवीय सहायता पहुँच मार्ग खुला गर्न आह्वान गरेको छ।

गत हप्ता अमेरिकी र रुसी मध्यस्थताको युद्धविराम भंग भएयता अलेप्पो शहरको पूर्वी भागमा सिरियाली हवाई सेनाले चर्को बम हमला गरिहेको छ। विश्व स्वास्थ्य संगठनका एकजना प्रवक्ताले भनेकी छन्, अलेप्पो शहरको विद्रोही नियन्त्रित पूर्वी क्षेत्रमा फसिरहेका झण्डै २५ लाख मानिसहरुका लागि ३५ जना मात्र डाक्टरहरु बाँकी रहेका छन्।

त्यहाँ उपलब्ध चिकित्सा सामाग्रीहरु समाप्त हुँदै गएको र रगतको चरम अभाव रहेको बताइएको छ।

दवाव

तस्वीर कपीराइट Reuters

केही छोटो समयको युद्धविरामपछि पुन: शुरु भएको चरम बम हमलाका कारण त्यहाँ चिकित्सा उपचार सेवा चर्को दवावमा परेको छ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता भन्छिन्, गत सप्ताहान्तमा मात्र त्यहाँ दुई सय जनाभन्दा बढी घाइते भएका थिए।

बम हमलाबाट भत्किएका भवनहरुको भग्नावशेषहरुका कारण बाटोहरु अवरुद्ध हुँदा एम्बुलेन्सहरुलाई शहरमा ओहोरदोहोर गर्न अप्ठ्यारो छ।

पूर्वी अलेप्पोतर्फ जाने सबै बाटो बन्द छन् र त्यहाँ बाँकी रहेका २५ वटा स्वास्थ्य सेवा केन्द्रहरु पनि नष्ट हुने चरणमा छन्।

विश्व स्वास्थ्य संगठनले अलेप्पोको पूर्वी भागमा रहेको विरामी तथा घाइतेहरुको उद्धारका लागि तत्कालै मानवीय सहायता मार्गहरुको स्थापना हुनुपर्ने बताएको छ।

अह्वान

तस्वीर कपीराइट Reuters

तर संयुक्त राष्ट्रसंघ र रेडक्रसको अन्तर्राष्ट्रिय कमिटीले गत जुलाई महिनाको मध्यदेखि नै अलेप्पोमा मानवीय सहायता मार्ग स्थापना गर्नका लागि आह्वान गर्दै आएका थिए, त्यसतर्फ पनि कुनै काम भएको देखिँदैन।

संक्षिप्त युद्धविरामको समयमा पनि अलेप्पोमा घेराबन्दीमा रहेका स्थानमा कुनै प्रकारको राहत सहायता पुर्याउन सकिएको थिएन।

जिनीभास्थित बीबीसी संवादददाता इमोजेन फुक्स भन्छिन्,"अब लगभग चौविसै घण्टा जस्तो चलेको हवाई हमलाका माझ अलेप्पोमा फसिरहेकाहरुसम्म राहत पुग्ने सम्भावना झन झन टाढा बन्दै गएको देखिन्छ।"