दिल्ली भ्रमणका बेथिति

  • 27 सेप्टेम्बर 2016
तस्वीर कपीराइट PIB
Image caption प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणबाट आफू सन्तुष्ट रहेको बताएका छन्

प्रधानमन्त्री प्रचण्डको हालैको भ्रारत भ्रमणका बेला त्यहाँ भएका भेटघाट नेपाल पक्षले गर्नुपर्ने व्यवस्थापन र बैठकहरूमा जे-जस्ता दृष्यहरु देखिए तिनको सामाजिक सञ्जालमा निकै आलोचना भए।

त्यस्ता कतिपय आलोचना जायज भएको शिष्टाचारविज्ञ बताउँछन्।

तर विदेश भ्रमणका बेला व्यवस्थापन र शिष्टाचारका मामिलामा नेपाली पक्ष चुकेको यो पहिलो पटक होइन।

उच्चस्तरीय भ्रमणअघि अत्यधिक हल्लाखल्ला गर्ने तर भ्रमणका बेला भएका त्रुटिहरुको ठिक ढंङ्गले समीक्षा समेत नगर्ने परम्पराले नेपालको छविमै आँच पुग्ने गरेको आमबुझाई छ।

जम्बो

दिल्लीको भ्रमणमा निस्किँदा नेपाली प्रधानमन्त्रीले आफ्ना सहयोगीसहितको ठूलो टोली त्यसतर्फ लैजाने पुरानै परम्परालाई प्रधानमन्त्री प्रचण्डले पनि निरन्तरता दिए तर पुरानाले जस्तै उनले पनि बिर्सिए, आवश्यकताभन्दा ठूलो भ्रमण दलले देशको शान बढाउँदै बरू गिराउँछ – त्यसै भन्छन् विज्ञहरू।

त्यसैकारणले नै हो सरकारले यस्ता भ्रमणहरूमा कति जनासम्मको टोली लैजाने भनेर निर्देशिका नै बनाएको छ तर त्यसको पालना हुँदैन।

जम्बो टोली भएका कारण नै हुनुपर्छ, दिल्ली भ्रमणको अवधिभर प्रतिनिधिमण्डलका कतिपय सदस्य एवं प्रधानमन्त्रीका सल्लाहकारहरु फुर्सदिला देखिन्थे।

समस्या त्यतिमा सीमित थिएन, नेपाली पक्षको फितलो व्यवस्थापन बारम्बार महशुस हुन्थ्यो।

Image caption प्रधानमन्त्रीको दिल्लीमा भएको पत्रकार सम्मेलनको व्यवस्थापन टिठलाग्दो देखिएको धेरैको गुनासो थियो

दुई देशका प्रधानमन्त्रीको भेटपछि साँझतिर भारतीय विदेश सचिवले पत्रकार सम्मेलन आयोजना गरेका थिए तर नेपाली पत्रकारहरूलाई समयमै सूचना प्रवाह गर्ने कार्यमा नेपाली पक्ष चुकेको थियो।

भारत भ्रमणबाट फर्किनु एक दिनअघि राति ८ बजेपछि सरकारी प्रतिनिधीमण्डल बसेको होटलभन्दा निक्कै टाढा प्रधानमन्त्री प्रचण्डले आयोजना गरेको पत्रकार सम्मेलनका बेला परराष्ट्रका अधिकारीहरुले कुन सिटमा को बस्ने भन्ने व्यवस्था कैँचीले बाङ्गोटिङ्गोरूपमा काटिएका कागजको टुक्रा कुर्सीमाथि भद्दा पाराले राखेर गरेका थिए।

जवाफदेही

नेपालका प्रधानमन्त्रीलाई सम्मान गारत अर्थात गार्ड अफ अनर दिनुअघि लिइएको एउटा तस्वीरमा प्रधानमन्त्री पत्नीको भावभंगीबारे सामाजिक सञ्जालमा व्यापक आलोचना भयो।

शिष्टाचार विज्ञहरू भन्छन्, विशिष्ट व्यक्तिहरुले यस्ता उच्चस्तरीय भ्रमणहरुमा प्रस्तुत गर्ने हाउभाउ र आचरण अर्थपूर्ण हुन्छ र त्यसबारे या त सम्बन्धित व्यक्तिले आफैं चासो लिएर जानकारी लिनुपर्ने हो या त परराष्ट्र मन्त्रालयले त्यसबारे प्रशिक्षण दिनुपर्ने हो।

Image caption राजकीय भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डसहित केहि विशिष्ट पदाधिकारी भारतीय राष्ट्रपति निवासमा बसेका थिए

तर नेपालका हकमा त्यसो भएको देखिँदैन।

उसो त राजकीय भ्रमणको चाँजोपाँजो मिलाउन केहीअघि दिल्ली गएका परराष्ट्रमन्त्री प्रकाशशरण महतले आफ्नी समकक्षी सुष्मा स्वराजलाई बाटोछेउको पसलमा सामान किन्दा दिइने जस्तो सामान्य झोलाबाट निकालेर पशुपतिनाथको प्रसाद दिएको हेर्दै असहज लाग्ने दृश्य प्रकाशमा आएको थियो।

दिल्ली बाहिर हिमाञ्चल प्रदेशमा जलविद्युत आयोजनाको अवलोकन गर्न जाँदा होस् वा हरिद्वारमा पतंजली योगपीठको भ्रमण गर्दा, सरकारी सञ्चारमाध्यमका प्रतिनिधिसम्म पनि प्रधानमन्त्रीको भ्रमण दलमा नअटाएको देखियो।

प्रधानमन्त्री ती दुई ठाउँको अवलोकन भ्रमणमा व्यस्त रहँदा उनका कतिपय सल्लाहकार दिल्लीका बजारमा सामान किन्ने योजना बुनिरहेका थिए।

त्यसै पनि नेपाल भारतको हेपाईबाट आजित भएको कैयौँ नेताहरु अनौपचारिक कुराकानीमा सुनाउने गर्छन्।

झन् यस्ता उच्चस्तरीय भ्रमणको उचित र प्रभावकारी व्यवस्थापन गर्न नसक्दा त्यो हेपाईको स्तर बढ्नसक्ने परराष्ट्रविद्हरू बताउँछन्।