'भारतीय सेनाद्वारा नियन्त्रण रेखामा कारवाही'

  • 29 सेप्टेम्बर 2016

गत साता भारत प्रशासित काश्मीरस्थित उरीमा सैनिक अखाडामा भएको आतंकवादी हमलापश्चात चर्किएको तनावका माझ भारतीय सेनाले दुई देशको सीमास्थित नियन्त्रण रेखामा सीमित कारवाही (सर्जिकल स्ट्राइक्स) गरेको जनाएको छ।

बिहीबार एक पत्रकार सम्मेलनमा बोल्दै भारतीय सेनाका लेफ्टिनेन्ट जनरल रणवीर सिंहले आतंकवादीहरुको इलाकामा हमला गरिएको बताए।

"यो हमला बुधवार राती गरिएको थियो जब सीमा नियन्त्रण रेखामा आतंकवादीहरु जम्मा हुँदैछन् भन्ने पक्का जानकारी हामीलाई प्राप्त भयो," उनले भने।

तर पाकिस्तानले भने सो भनाइको खण्डन गरेको छ।

हमला

उसले भारतीय पक्षबाट आफ्नो भूभागमा कुनै हमला नगरिएको दावी गरेको छ।

यसअघि पाकिस्तानले बिहीबार बिहानै सीमा नियन्त्रण रेखामा भारतीय सैनिक टुकडीसँग भएका गोली हानाहानमा आफ्ना दुई सैनिक मारिएको जनाएको थियो।

पाकिस्तानी सेनाले भारतले विना कुनै उक्साहट नियन्त्रण रेखामा गोली हानेको जनाएको छ।

पाकिस्तानी टिभी च्यानल पीटिभीका अनुसार प्रधानमन्त्री नवाज शरीफले ‘भारतको खुला अत्याचार’को निन्दा गरेका छन्।

तनाव

यसै महिनाको शुरुमा एउटा भारतीय सैनिक अखाडामा उग्रवादीहरुद्वारा गरिएको हमलामा १८ जना भारतीय सैनिकहरुको ज्यान गएपछि दुबै छिमेकीहरुबीच तनाव बढेको छ।

भारतले ती उग्रवादीहरु पाकिस्तानी भूभागबाट आएका र पाकिस्तानले उनीहरुलाई संरक्षण दिने गरेको आरोप लगाएको छ।

तर पाकिस्तानले ती आरोपहरुको खण्डन गर्दै आएको छ।