राजकीय सम्मानका साथ पेरेजको अन्त्येष्टि

  • 30 सेप्टेम्बर 2016
पेरेज
Image caption स्वर्गीय पेरेजप्रति श्रद्धान्जली व्यक्त गर्न विश्व नेताहरु जेरुसलम पुगेका थिए

इजरेलका संस्थापक नेताहरुमध्ये एक शिमोन पेरेजको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।

स्वर्गीय पेरेजप्रति श्रद्धान्जली व्यक्त गर्न विश्व नेताहरु जेरुसलम पुगेका थिए।

जेरुसलमको माउन्ट हर्ल समाधिस्थलमा आयोजित समारोहमा अमेरिकी राष्ट्रपति ओबामा, भूतपूर्व राष्ट्रपति बिल क्लिन्टन, ब्रिटिश युवराज चार्ल्स, संयुक्त राष्ट्र संघका महासचिव बान कि मुन लगायत कैयौं विश्व नेताहरु उपस्थित थिए।

फ्रान्स, जर्मनी र मेक्सिकोका राष्ट्रपतिहरु, अष्ट्रेलिया, क्यानडा र इटलीका प्रधानमन्त्रीहरु, स्पेनका राजा फेलिपे छैठौं संगै प्यालेस्टिनी नेता महमुद अब्बास पनि सो समारोहमा सहभागी भएका थिए।

तुलना

स्वर्गीय पेरेजप्रति श्रद्धान्जली व्यक्त गर्दै राष्ट्पति ओबामाले उनलाई स्वर्गीय नेल्सन मण्डेला र ब्रिटिश महारानी एलिजाबेथ द्वितीयसंग तुलना गरे।

तस्वीर कपीराइट Reuters

आफ्ना छिमेकीहरुसंग शान्तिपूर्णरुपमा रहने पेरेजको सपना अझै साकार हुन नसकेको उनले बताए।

२३ वर्षअघि ओस्लो संझौता भनिने प्यालेस्टिनीहरुसंग शान्ति सम्झौता गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।

त्यसको एक वर्ष पछि सन् १९९४ मा तत्कालिन इजरेली प्रधानमन्त्री यित्ज्याक राबिन र प्यालेस्टिनी नेता यासेर अराफतसंगै उनलाई नोबेल शान्ति पुरस्कार दिइएको थियो।

नोबेल पुरस्कार पाएका पेरेजलाई इजरेलको गोप्य पारमाणविक कार्यक्रमको निर्माताका रुपमा पनि हेरिन्छ।

तस्वीर कपीराइट Getty

पूर्व इजरेली राष्ट्रपति तथा प्रधानमन्त्री पेरेजको बुधबार ९३ वर्षको उमेरमा निधन भएको थियो।

दुई साताअघि मस्तिष्कघात भएपछि उनी गम्भीर बिरामी भएका थिए।

पुस्ता

सन् १९४८ मा नयाँ मुलुकको रुपमा इजरेलको जन्म देखेका इजरेली राजनीतिज्ञहरुको पुस्ताका अन्तिम नेतामध्ये उनी पनि थिए।

हाम्रा भूतपूर्व मध्यपूर्व संवाददाता केभेन केनेली भन्छन्, नब्बे वर्षको उमेरमा पनि राष्ट्पतिको रुपमा लोकप्रिय रहेका स्वर्गीय पेरेजलाई इजरेलीहरु देशकै हजुरबुवाको रुपमा पनि हेर्दथे, तर सन् १९९६ मा सैयौं सर्वसाधारणको ज्यान जानेगरी लेबनानको उग्रवादी समूह हेजबोल्लाह विरुद्ध कारवाही गर्न उनले दिएको आदेशका कारण कतिपय उनको आलोचना पनि गर्दछन्।

११ वटा पुस्तकका लेखक पेरेज जीवनको उतरार्द्धतिर पनि सक्रिय थिए।

उनले खासगरी आफ्नो गैरसरकारी संस्था ‘पेरेज सेन्टर फर पिस’मार्फत इजरेली र प्यालेस्टिनीबिच नजिकको सम्बन्ध बनाउन भूमिका निर्वाह गरेका थिए।