चुनावका केही जान्नुपर्ने विषय

  • 30 सेप्टेम्बर 2016
तस्वीर कपीराइट AP
Image caption राष्ट्रपति पदका दुवै प्रत्यासीहरुबीचको पहिलो चरणको बहस सकिएको छ

एउटा पट्यारलाग्दो लामो र महंगो अभियानपछि ज्यानुअरी २०१७ मा संसारकै सबैभन्दा शक्तिशाली मुलुक अमेरिकाले नयां नेता पाउनेछ।

तर अमेरिकाको राष्ट्रपतीय चुनावले कसरी काम गर्छ?

जब अमेरिकाले राष्ट्रपति चयन गर्छ उसले केवल राष्ट्राध्यक्षमात्रै रोज्दैन, सरकारको प्रमुख र संसारकै सबैभन्दा ठूलो सेनाको प्रमुख कमाण्डर पनि रोज्नेछ।

यो ठूलो जिम्मेवारी हो। त्यसो भए यो प्रक्रियाले कसरी काम गर्छ?

को राष्ट्रपति हुन पाउंछ?

प्राविधिक रुपमा राष्ट्रपति पदमा लड्नका लागि कम्तीमा ३५ वर्ष उमेरको र अमेरिकीमा १४ वर्षयता बस्दै आएको नागरिक हुनुपर्छ।

तर वास्तविकतामा भने सन् १९३३ यता राष्ट्रपति भएका प्राय: सबै गभर्नर, सिनेटर वा पांच तारे उच्च सैनिक अधिकारी थिए।

र, त्यो अझ पार्टीको मनोनयनमा पर्नु र राष्ट्रिय सञ्चारमाध्यमको ध्यान पाउनुअघि नै हो।

अहिलेको चुनावको क्रममा एकपटक यस्तो अवस्था आयो जतिबेला १० जना गभर्नर तथा पूर्व गभर्नर र १० जना बहालवाला तथा पूर्व सिनेटरहरु थिए।

रिपब्लिकन र डेमोक्रयाटिक पार्टीहरुबाट एक/एक जना उम्मेदवार राष्ट्रपतीय चुनावमा भिड्नेछन्।

प्रत्येक पार्टीबाट को चुनिन्छ?

प्रत्येक राज्य र बाहिर रहेका अमेरिकी भूभागमा श्रृखंलावद्ध रुपमा चुनावहरु हुन्छन्।

फेब्रुअरीबाट सुरु हुने ती चुनावले प्रत्येक पार्टीको आधिकारिक राष्ट्रपतीय उम्मेदवार निर्धारण गर्नेछ।

प्रत्येक विजेताले निश्चित संख्यामा पार्टी प्रतिनिधिहरुको समर्थन प्राप्त गर्नुपर्नेछ।

पार्टी प्रतिनिधिहरुलाई चुनावी वर्षको जुलाईमा हुने पार्टी भेलामा मतदान गर्ने अधिकार हुन्छ र त्यहीबाट पार्टीगत उम्मेदवार छानिन्छन्।

तस्वीर कपीराइट AFP
Image caption पछिल्ला मतसर्वेक्षणहरुले डेमोक्रेटिककी उम्मेदवार हिलरी क्लिन्टनलाई ट्रम्प भन्दा केही अगाडि देखाएको छ

जति धेरै राज्यमा जित्यो त्यतिनै धेरै प्रतिनिधिहरुको साथ उक्त आकांक्षीलाई रहन्छ।

डेमोक्रयाट हिलारी क्लिन्टन र रिपब्लिकन डोनाल्ड ट्रम्पलाई उनीहरुका पार्टीहरुले जुलाइमा भएको भेलाबाट औपचारिक रुपमा राष्ट्रपतीय उम्मेदवारको रुपमा मनोनयन गरेका छन्।

क्लिन्टनले भर्जिनियाका टिम कायनलाई र ट्रम्पले इण्डियानाका माइ पेन्सलाई आआफ्ना उपराष्ट्रपतिका उम्मेदवारका रुपमा चयन गरेका छन्।

कसले जित्यो पहिलो बहस?

न्यूयोकको लङ्ग आइल्याण्डमा भएको पहिलो बहस, क्लिन्टन र ट्रम्प संगसंगै एउटै मञ्चमा उभिएको पहिलो घटना थियो।

९७ मिनेटसम्म भएको उक्त बहसमा क्लिन्टनले ट्रम्पमाथि कडा प्रहार गरिन्।

उनले ट्रम्पलाई कर नतिरेको, महिलालाई सम्मान नगरेको, जातिवादी टिप्पणीहरु गरेको भन्दै आलोचनालाई गरिन्।

ट्रम्पले भने व्यापार सम्झौता, इमेल प्रकरण र मध्यपूर्व मामिलामा क्लिन्टनमाथि निशाना साधेका थिए।

महत्वपूर्ण मितिहरु

एउटा लामो चुनावी अभियान पार भइसकेको जस्तो लागे पनि त्यो त केवल सुरुवात मात्रै हो।

अबका पांच हप्ता तीनवटा थप टेलिभिजन बहसहरु हुंदैछन्।

  • अक्टोबर ४ मा भर्जिनियामा उपराष्ट्रपतिका उम्मेदवारबीच बहस हुनेछ
  • अक्टोबर ९ मा मिजौरीमा राष्ट्रपतिका उम्मेदवारबीच बहस हुनेछ
  • अक्टोबर १९ मा लस भेगसमा पनि राष्ट्रपतीय बहस हुनेछ

अन्तत: नोभेम्बर ८ मा राष्ट्रपति चुन्न मतदान हुनेछ।

मतदान कसरी हुन्छ?

सबैभन्दा धेरै मत ल्याउने उम्मेदवार प्रत्येक राज्यले समर्थन गरेको राष्ट्रपति हुन्छन्।

राष्ट्रपति चुन्न 'इलेक्टोरल कलेज'को पनि भूमिका हुन्छ।

इलेक्टोरल कलेज ५३८ जना व्यक्तिहरुको समूह हो।

तीमध्ये आधा अर्थात् २७० जनाले समर्थन गरे पनि राष्ट्रपति बन्न बाटो खुल्नेछ।

तर सबै राज्य बराबर छैनन्। जस्तै उदाहरणका लागि क्यालिफोर्नियाको जनसंख्या कनेक्टिकटकोभन्दा १० गुणा धेरै भएकाले उसको भूमिका ठूलो देखिन्छ।

प्रत्येक राज्यले पछिल्लो जनगणनाका आधारमा निश्चित संख्या इलेक्टोरल कलेजमा सहभागी हुने ‘इलेक्टर’ चयन गर्छन्।

एउटा राज्यमा रहेका जिल्लाहरुको संख्या र दुईजना सिनेटर जोडेर आउने संख्याकै बराबर ‘इलेक्टर’को चयन हुन्छ।

त्यसैले आफूले रोजेको उम्मेदवारलाई मतदान गर्दा वास्तवमा मतदाताहरुले ‘इलेक्टर’का लागि मत खसालेको जस्तो हो।

तर रोचक कुरा के छ भने लगभग प्राय: राज्यमा (नेब्रास्का र मेइन बाहेक) विजेताले सबै इलेक्टोरल मत पाउंछ।

जस्तै उदाहरणका लागि न्यूयोर्कमा अधिकांश ‘इलेक्टर’ जित्ने उम्मेदवारले न्यूयोर्कको सबै २९ इलेक्टोरल भोट पाउंछ।

तस्वीर कपीराइट AP
Image caption हिलरीको दाँजोमा ट्रम्प केही झिनो अन्तरले पछि देखिए पनि अन्तिम परिणाममा कसको पल्लाभारी हुने भन्ने विषय निकै रोचक बन्दै गएको छ

प्रतिस्पर्धा कडा भएको अवस्थामा कुनै पनि दलको गढ भनेर नचिनिएका राज्य ‘स्विंग स्टेट’ निर्णायक हुन आउंछन्।

स्विंग स्टेट के हो?

पूरै राज्यमा जित हात पारेर २७० ‘इलेक्टर’ आफ्नो पक्षमा पार्नका लागि दुई जना उम्मेदवार छन्।

दुवै पार्टीले केही साना र ठूला राज्यमा आफूहरु भर पर्न सक्ने ठानेका छन्।

रिपब्लिकनहरु टेक्ससमाथि भर पर्नेछन् र त्यहां धेरै चुनावी अभियान गरेर पैसा खर्च गर्न उनीहरु चाहंदैनन्।

त्यसैगरी क्यालिफोर्निया डेमोक्रयाटहरुको पोल्टामा पर्ने निश्चित जस्तै छ।

तर अरु केही राज्य ‘स्विंग स्टेट’ हुन् जुन दुवै पार्टीमध्ये जुनसुकैको पोल्टामा जान सक्छ।

२९ मतसहितको फ्लोरिडा राज्य सन् २००० को चुनावमा जर्ज डब्लु बुसको जितका लागि निर्णायक भएको थियो।

उनले राष्ट्रियस्तरमा कम मत ल्याएका थिए तर एउटा सर्वोच्च अदालतको मुद्दापछि उनले इलेक्टोरल कलेज जिते।

अन्य ‘स्विंग स्टेट’मा ओहायो, भर्जिनिया, कोलोराडो, नर्थ क्यारोलाइना र नेभाडा छन्।

नयां राष्ट्रपतिले कहिले काम थाल्छन्?

यदि चुनावबाट प्रष्ट रुपमा एक जना विजेता छानियो भने उसले चुनावको केही दिन र हप्तापछि आफ्नो मन्त्रिपरिषद् गठन गर्नेदेखि लिएर आफ्नो नीति बनाउन थाल्नेछ।

संगसंगै बाहिरिदैं गरेको राष्ट्रपतिले आफ्नो कार्यकाल थप फलदायी बनाउने प्रयास गर्नेछ र सामानहरु बांध्न थाल्नेछ।

अमेरिकी संविधान अन्तर्गत चुनाव भएको वर्षलगत्तैको वर्षको जनवरी २० बाट नयां राष्ट्रपतिले औपचारिक रुपमा कार्यभार सम्हाल्नेछन्।