थप सात वायु प्रदूषण नाप्ने यन्त्र राखिने

  • 2 अक्टोबर 2016
Image caption उपत्यकाका तीन स्थानमा वायु प्रदूषण मापन केन्द्र स्थापना गरिएका छन्

बढ्दो वायु प्रदूषण मापन गर्न विभिन्न स्थानमा वायु प्रदूषण मापन यन्त्र राख्नुका साथै वायु प्रदूषण नियन्त्रण रणनीति तयार गरिरहेको सरकारी अधिकारीहरुले बताएका छन्।

विश्व स्वास्थ्य संगठनले हालै सार्वजनिक गरेको प्रतिवेदनका अनुसार नेपालमा प्रति १ लाख जनामध्ये ३६ जना वायु प्रदूषणका कारण उत्पन्न हुने समस्याले ज्यान गुमाउने गर्छन्।

जनसंख्या तथा वातावरण मन्त्रालयले भर्खरै उपत्यकाका तीन स्थानमा वायु प्रदूषण मापन केन्द्र स्थापना गरेको छ।

केही समयमै सात स्थानमा त्यस्तो उपकरण राख्ने तयारी भइसकेको अधिकारीहरुले बताएका छन्।

तथ्यांक

विश्व स्वास्थ्य संगठनले यसै हप्ता सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा १ लाखमा ३६ जनाको निधन वायु प्रदूषणको कारणले हुने गरेको छ।

ह्यदयघात, मुटुसम्बन्धी समस्या, फोक्सोको क्यान्सर र स्वास प्रश्वाससम्बन्धी गम्भीर रोगहरु रहेको बताइएको छ।

तस्वीर कपीराइट iStock
Image caption वायु प्रदूषणको मुख्य श्रोत सवारी साधन रहेको पाइएको छ

वायु प्रदूषणको कारणबारे जनसंख्या तथा वातावरण मन्त्रालय, वातावरण विभागका प्रवक्ता मोहनदेव जोशी भन्छन्,"अध्ययनले देखाए अनुसार सबैभन्दा वढी मात्रा सवारी साधनबाट निस्किने धुलोको हुँदोरहेछ। त्यसको लगभग ४० प्रतिशत प्रदूषण हुँदोरहेछ। दोस्रोमा कृषि क्षेत्रबाट निस्किने प्रदूषण र तेस्रोमा चाहिँ ईटा भट्टाबाट निस्किने धुलो धुवाँ रहेछ।"

कमजोरी

यो समस्यासँग जुध्नका लागि सरकारका विभिन्न निकायबीच समन्वय हुन नसक्नु प्रमुख कमजोरी रहेको जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओली बताउँछन्।

Image caption वायु प्रदूषण नियन्त्रणमा सरकारी संयन्त्रबीच नै समन्वय अभाव देखिन्छ

उनले भने," कार्यान्वयन तहमा संरचनाहरु छैन। अन्य मन्त्रालय, निकायहरु र नागरिकको पनि सहयोग लिने हो। विभिन्न मन्त्रालयहरुसंग हामीले छलफल गरिरहेका छौं। खासगरी स्थानीय निकायहरु नगरपालिका, महानगरपालिकाहरुको यसमा बढी भूमिका हुने गर्दछ।"

वातावरण मन्त्रालयले अहिले वायु प्रदूषण नियन्त्रणका लागि रणनीति बनाइरहेको र त्यसको प्रतिवेदनको आधारमा सुधारका कार्यक्रम गर्ने जनाएको छ।

एशियाली विकास बैंकको सहकार्यमा बनिरहेको उक्त रणनीतिको प्रतिवेदन आउन ४ महिना लाग्ने बताइएको छ।

तर यसअघिका प्रदूषण मापन र नियन्त्रण सम्बन्धी कार्यक्रम प्रभावकारी बनाउन नसकेको आरोप अधिकारीहरुले खेप्दै आएका छन्।