'इयु छोड्ने प्रक्रिया मार्चमा थालिने'

  • 2 अक्टोबर 2016

ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेले औपचारिक रुपमा ब्रिटेनले युरोपेली संघ छोड्ने प्रक्रिया सन् २०१७ को मार्च महिनामा शुरु गर्ने बीबीसीलाई बताएकी छिन्।

त्यसो भएमा ब्रिटेनले सन् २०१९ को ग्रीष्म ऋतुसम्ममा इयु् छोड्नेछ।

मेले सन् १९७२ को युरोपेली समुदायसम्बन्धी कानुनलाई पनि ब्रिटेनको कानुनबाट हटाउने प्रतिबद्धता जनाइन्।

त्यसो गरेमा ब्रिटेन एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र बन्ने मेले बताईन्, त्यसो गरेमा ब्रिटेनले इयुबाट बाहिरिएपछि सरकारले कुनै पनि कानुन राख्न, संशोधन गर्न वा रद्द गर्न पाउनेछ र ब्रिटेनमा युरोपेली अदालतको क्षेत्राधिकार पनि अन्त्य हुनेछ।

दवाव

ब्रिटेनले इयु छोड्नुपर्छ भन्ने पक्षका अभियानकर्ताहरुले २ वर्ष लामो सो प्रक्रिया सकेसम्म चाँडो शुरु गर्ने आह्वान गरिरहेका छन्।

मेले यो भन्दा अघि सो प्रक्रिया यसै वर्ष शुरु नहुने मात्रै बताएकी थिइन्।

बर्मिङहममा जारी कन्जर्भेटिभ पार्टीको सम्मेलनमा उनले यस विषयमा भाषण गर्नेछिन्।

बीबीसीकी राजनीतिक संवाददाता क्यारोल वाकर भन्छिन्, जनमतसंग्रह भएको करिब ३ महिनासम्म मेले ब्रिटेनका जनताको मतलाई कसरी कार्यान्वयन गर्ने भन्ने विषयमा केही बोलेकी थिइन्।

ब्रिटेनले कहिले कसरी र कस्ता शर्त अनुरुप इयु छोड्ने हो भनेर बताउन उनीमाथि दवाव बढ्दै थियो।

जवाफ

अब तीमध्ये केही प्रश्नका जवाफ हामीसँग छन्।

आगामी मार्च महिनासम्म ब्रिटेनले इयुका साझेदारहरुसँग औपचारिक रुपमा वार्ता शुरु गर्नेछ र त्यो प्रक्रिया सन् २०१९ को मार्च महिनासम्ममा अन्त्य हुनेछ।

सन् २०२० मा चुनाव हुने हुनाले ब्रिटेनले इयु छोड्ने तरीकाका बारेमा जनतालाई बताउन र विश्वास दिलाउन मेसँग करीब १ वर्षको समय मात्रै हुनेछ।

बहिर्गमनको प्रक्रिया जटिल हुने भन्दै मेले त्यो काम सजिलो बनाउनका लागि बाँकी रहेका इयुका सदस्यसँग मिलेर त्यसका लागि तयारी गर्ने आशा राखेको बताइन्।

ब्रिटेनको बहिर्गमन ब्रिटेनका लागि मात्रै होईन समग्र युरोपका लागि महत्वपुर्ण रहेको भन्दै उनले व्यापार सकेसम्म कम अवरुद्ध हुने गरी सबैभन्दा राम्रो तरीकाले त्यो प्रक्रिया गर्नु जरुरी रहेको बताइन्।

गत जुन महिनामा भएको जनमतसंग्रहको नतिजाको अर्थ ब्रिटेनका जनताले सरकारले ब्रिटेन जाने मानिसको आवागामन नियन्त्रण गरोस् भन्ने स्पष्ट सन्देश दिएको बताइन्।