तालेबान लडाकु कुन्दुज शहर 'प्रवेश'

  • 3 अक्टोबर 2016
तस्वीर कपीराइट AFP

उत्तरी अफगानिस्तानस्थित कुन्दुज शहरमा एकदिनको भीषण भिडन्तपछि तालेबान लडाकुहरु शहर प्रवेश गर्न सफल भएजस्तो देखिएको बताईएको छ।

लडाकुहरुले मध्यरातमा शहरको चारैतर्फबाट आक्रमण गरेका थिए।

एकजना प्रत्यक्षदर्शीले लडाकुहरु अघि बढेको देखेको बताएका छन्।

अफगान अधिकारीले त्यो कुरा अस्वीकार गरेका छन् र अधिकारीहरुलाई गलत साबित गर्ने उद्देश्यले तालेबानले एउटा भिडियो सार्वजनिक गरेको छ।

फेरि आक्रमण

गत वर्ष छोटो समयका लागि तालेबानले कब्जा गरेको उक्त शहर फेरि सरकारले फिर्ता लिएको थियो।

सन् २०१५ को सेप्टेम्बर महिनामा तालेबानले पहिलोपटक कुनै ठूलो शहर अर्थात कुन्दुजमाथि कब्जा गरेका थिए।

त्यो कब्जाले पश्चिमा मुलुक समर्थित सरकारलाई ठूलो धक्का दिएको थियो।

केही दिनभित्रै नेटोको समर्थनसहित सरकारी सेनाले उक्त शहर फेरि आफ्नो कब्जामा लिएको थियो।

बढ्दो शक्ति

लडाकुहरुले ४ दिनपछि उक्त शहर छोडेका थिए तर उनीहरुले आफ्नो बढ्दो शक्तिको प्रमाण दिएर गएका थिए।

यसै महिना केही समयअघि उक्त समूहले युरुज्गान प्रान्तको केन्द्र तारिन कोटमाथि हमला गरेको थियो।

दक्षिणी अफगानिस्तानस्थित हेल्मण्ड प्रान्तमा लडाकुहरुले रणनीतिक रुपमा महत्वपूर्ण लश्कर गाह जिल्लाका स्थानीय प्रहरी प्रमुखलाई मारेर जिल्ला कब्जा गरेको अधिकारीहरुले बताएका छन्।

अन्य ठाउँमा पनि थुप्रै प्रहरी मारिएको बताईएको छ।

भिडन्त जारी

कुन्दुजका बासिन्दाहरुले भीषण भसडन्त भएको र हेलिकप्टरहरु उडिरहेको आवाज सुनेको बीबीसीलाई बताएका छन्।

कुन्दुजको प्रहरी समन्वय कार्यालयका प्रमुख मोहमदुल्लाह बहेजले लडाकुहरुलाई पछाडि धकेलिएको तर शहरबाहिर भिडन्त जारी रहेको बताएका छन्।

तालेबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले तालेबानले उक्त शहरका थुप्रै जाँचबुझ केन्द्रहरु कब्जा गरेको बताएका छन्।

उनले आफ्नो ट्वीटरमार्फत कुन्दुजको केन्द्रमा बिहानै ठूलो कारबाही थालिएको बताएका थिए।

ब्रसेल्समा दाताहरुको उच्चस्तरीय सम्मेलन शुरु हुने समयमा अफगानिस्तानमा हिंसा फेरि भड्किएको छ।

मंगलबार शुरु हुने सम्मेलनमा अफगानिस्तानका अन्तर्राष्ट्रिय साझेदारहरुले उक्त देशलाई हाल दिईरहेको आर्थिक सहयोगका बारेमा छलफल गर्नेछन्।