'प्लुटोनियम नष्ट गर्ने सम्झौता स्थगित'

  • 3 अक्टोबर 2016
तस्वीर कपीराइट AP

रुसले अस्त्र बनाउन सकिने गुणस्तरको प्लुटोनियम नष्ट गर्ने बारे संयुक्त राज्य अमेरिकासंग भएको एक सम्झौता निलम्बन गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जारी गरेका अध्यादेशमा भनिएको छ अमेरिकीहरुले गरेका उनकै शब्दमा, अमैत्रीपूर्ण व्यवहारको बदलामा त्यस्तो निर्णय लिइएको हो।

सन् २००० मा भ्लादिमिर पुटिन सत्तामा आएको केहि महिना पछि नै अमेरिका र रुसले अस्त्र गुणस्तरको ३४ टन प्लुटोनियम नष्ट गर्ने प्रतिबद्धता जनाएका थिए।

त्यति मात्राको प्लुटोनियमबाट १७ हजार वटा परमाणु अस्त्र निर्माण गर्न पर्याप्त हुने बताइएको छ।

घोषणा

तर राष्ट्रपति पुटिनले अब त्यो सम्झौता स्थगित भएको घोषणा गरेका छन्।

राष्ट्रपतिय अध्यादेश जारी गर्दै उनले संयुक्त राज्य अमेरिकाले रुस विरुद्ध अमैत्रीपूर्ण कदमहरु चालेको र त्यसबाट रुसको रणनीतिक स्थीरतालाई जोखिम पुगेको दोष लगाएका छन्।

तस्वीर कपीराइट AFP

उनले सावधान गराउंदै भनेका छन् रुसले आफ्नो सुरक्षालाई ध्यानमा राख्दै जरुरी कदम चाल्न परेको छ।

राष्ट्रपतिय अध्यादेशमा उनले संयुक्त राज्य अमेरिकाले बढी भएको अस्त्र गुणस्तरको प्लुटोनियमको सदुपयोग गर्ने आफ्नो दायित्व लागु गर्न असफल भएको आरोप पनि लगाएका छन्।

संकेत

राष्ट्रपति पुटिनले यदि वाशिंगटनले सबै प्रतिबन्धहरु हटाएमा र मस्कोप्रति अमैत्रीपूर्ण देखिएका अन्य नीतिहरुको अन्त्य गरेमा आपसी सहयोग पुन: आरम्भ हुनसक्ने संकेत पनि गरेका छन्।

बीबीसीका मस्को सम्बाददाता स्टीभ रोजेनबर्ग भन्छन् क्रेमलिनले लिएको निर्णय रुस र पश्चिमा जगतबीच विग्रंदो सम्बन्धको अर्को संकेत हो।