हैटीमा शक्तिशाली आँधीले विनाश गर्दै

  • 4 अक्टोबर 2016
तस्वीर कपीराइट Reuters

आन्ध्र महासागरमा पछिल्ला वर्षहरुमा आएका सबैभन्दा शक्तिशाली आँधीहरुमध्ये एकले हैटीमा प्रवेश गरेपछि त्यहाँ भीषण हावाहुरी, भारी वर्षा र खतरनाक मौसम जारी छ।

अमेरिकाको राष्ट्रिय आँधी केन्द्रले हैटीमा आँधीले पुर्याउन सक्ने जति सबै क्षति पु-याइरहेको बताएको छ।

हैटीका अन्तरिम राष्ट्रपति जोसेलेर्मे प्रिभेर्टले अहिलेसम्म थुप्रै मारिएको बताए।

म्याथ्यु नाम दिइएको उक्त आँधीले केही ठाउँमा एक मिटरसम्म वर्षा गराउने अनुमान गरिएको छ।

क्षति

संसारका सबैभन्दा विपन्न देशहरु मध्ये एक हैटीमा बाढी पहिरो गइरहने क्षेत्रका धेरै वासिन्दा काठका घर अथवा टिनका झुपडीमा बस्दछन्।

आँधीले हैटीको दक्षिण पश्चिमी भागमा धेरै क्षति पुर्याईसकेको र अब प्रति घण्टा १५ किलोमिटरको गतिमा उत्तरतर्फ बढ्दै गरेको अमेरिकाको राष्ट्रिय आँधी केन्द्र एनएचसीले बताएको छ।

हैटीमा धेरै पहाडहरु भएका हुनाले ढिलो गतिमा अघि बढीरहेको उक्त आँधीले भारी वर्षा गराउन सक्ने सम्भावना रहेको बताइएको छ।

हैटीमा रहेका अधिकारीहरुले मानिसहरुलाई खाना र पानीको भण्डार गरेर राख्न र आफ्नो घर सुरक्षित बनाउन आह्वान गरेका छन्।

पालको बसाइ

सन् २०१० को ठूलो भूकम्प पछि हजारौं मानिस अझै पनि पालमा बसिरहेका छन्।

राजधानी पोर्ट-ओ-प्रिन्सको सबैभन्दा ठूलो सुकुम्वासी वस्तीका मेयर फेडेरिक हिज्लाँले घर जोखिममा रहेका डेढ लाख मानिसलाई अन्तै सार्न सरकारलाई आह्वान गरेका छन्।

३ लाख ४० हजार मानिसहरु अटाउने गरी करीब १३ सय आपत्कालिन आश्रयस्थल बनाइएको हैटीका अधिकारीहरुले बताएका छन्।

तर आफ्नो सामान चोरी हुने डरका कारण केही मानिसहरु आश्रयस्थल जान मानेका छैनन्।

हैटीका दुबै विमानस्थल बन्द छन्।

अब अमेरिकातिर

तस्वीर कपीराइट AP

आँधी अब बिस्तारै पूर्वी क्युबातिर र बहामाजका केही भागतिर लाग्ने एनएचसीले बताएको छ।

आँधीको असर पर्ने अपेक्षा गरिएको डोमिनिकन रिपब्लिकका केही जोखिमपूर्ण क्षेत्रबाट करीब १३ हजार मानिसलाई अन्तै सारिएको त्यहाँका नागरिक रक्षा प्रमुखले बताएका छन्।

जमैकाका केही क्षेत्रमा भारी वर्षा र हावाहुरीले राजधानी किंग्स्टनका सडकहरु अवरुद्ध गरेको छ।

आँधी यसै हप्ता केही समयपछि अमेरिका पुग्ने अनुमान गरिएको छ, जहाँ फ्लोरिडा र नर्थ क्यारोलाइना राज्यका केही क्षेत्रले आपत्कालिन अवस्थाको घोषणा गरेका छन्।

सन् २००७ को फिलिक्स नामको आँधी पछि म्याथ्यु त्यो क्षेत्रको सबैभन्दा शक्तिशाली आँधी हो।