अफगानिस्तानबारे बैठक

  • 5 अक्टोबर 2016

अफगानिस्तानका लागि अनुदान रकम जुटाउनका लागि अन्तर्राष्ट्रिय दाताहरुको बैठक ब्रसल्समा शुरु भएको छ।

युरोपेली संघले आयोजना गरेको उक्त वार्तामा ७० भन्दा बढी देशका प्रतिनिधिहरु उपस्थित छन्।

उनीहरुले अफगानिस्तानलाई सन् २०२० सम्म कूल ३ अर्ब डलर दिने प्रतिबद्धता जनाउने अपेक्षा गरिएको छ।

अफगानिस्तालाई दाताहरुले भ्रष्टाचार निवारण गर्न र शरण पाउन असफल भएका दसौं हजार मानिसलाई फिर्ता लिन भन्नेछन्।

तालेवानको गतिविधि बढ्दो रहेको अफगानिस्तान अझै पनि विदेशी सहायतामा निर्भर छ।

कम अपेक्षा

तस्वीर कपीराइट AFP

वर्षौंको युद्धपछि दाताहरु थाकेका हुनाले अधिकारीहरुले पछिल्लो सम्मेलनको जति रकम जुटाउने अपेक्षा गरेका छैनन्।

सन् २०१२ मा टोक्योमा भएको त्यस्तै सम्मेलनमा दाताहरुले अफगानिस्तानलाई ४ अर्ब डलर दिने प्रतिबद्धता जनाएका थिए।

हाल युरोपेली संघले प्रतिवर्ष १ अर्ब ३० करोड डलर दिने बताएको छ र शरण पाउन असफल मानिसलाई अफगानिस्तानले फिर्ता लिनु पर्ने भन्ने सहमतिमा अफगान सरकारसंग हस्ताक्षर गरेको छ।

त्यो सम्झौता अनुदानको एउटा शर्त हो भन्ने कुरा दुबै पक्षले अस्वीकार गरेका छन्।

शरणार्थी संख्या बढ्दो

सिरियालीहरुपछि युरोपमा शरण चाहने मानिसको सबैभन्दा ठूलो संख्या अफगानहरुको छ।

तालेवान लडाकुहरु युद्धमा अघि बढिरहेकाले अफगानहरु अन्तै राम्रो जीवन खोज्न झन् लागिपर्ने ब्रसल्सस्थित बीबीसीकी लीज डुसेट बताउँछिन्।

सन् २००२ यता अमेरिका र अन्य अन्तर्राष्ट्रिय दाताहरुले अफगानिस्तानलाई करीब १ खर्ब ३० अर्ब डलर दिएका छन्।

त्यो मध्ये धेरैजसो पैसा अमेरिकाले दिएको छ जसको आधि भन्दा बढी रकम सुरक्षामा खर्च गरिएको आधिकारिक तथ्यांकले देखाउँछ।

तर हाल धेरै क्षेत्रमा तालेवानको गतिविधि बढेकाले त्यो रकम खर्च गरेर भएको महंगो उपलब्धि जोखिममा परेको डर धेरैलाई छ।

हिंसा

त्यति धेरै रकम दिइएतापनि अफगानिस्तान संसारका सबैभन्दा विपन्न देश मध्ये एक हो र उसको बजेटको ८० प्रतिशत भन्दा बढी रकम सहायताबाट आउँछ।

ठूला दाताहरुले अफगानिस्तानमा भ्रष्टाचार र लागूपदार्थको व्यापारमाथि नियन्त्रण तथा शरणार्थीहरुको व्यवस्थापन हुनुपर्ने संकेत गरिरहेका छन्।

यसै समयमा अफगानिस्तानमा हिंसा भड्केको छ र उत्तरी शहर कुन्दुजमा लगातार ३ दिन देखि भीडन्त जारी छ।

दक्षिणी प्रान्त हेल्मण्डमा तालेवानले खान निशिन जिल्लाको प्रशासनिक मुख्यालयमा कब्जा गरेका छन् र प्रान्तीय राजधानी लश्कर गाह बाहिर जम्मा भएका छन्।