‘भारतसँगका सन्धि पुनरावलोकनमा प्रगति’

  • 5 अक्टोबर 2016
तस्वीर कपीराइट EPG
Image caption दुई देशका सरकारबीच भएको सहमति अनुसार गठन भएको समूहको अर्को बैठक तीन महिनापछि हुनेछ

नेपाल र भारतबीचको एउटा उच्चस्तरीय संयुक्त समूहको बैठकमा दुई देशबीच भएका सन्धि पुनरावलोकन गर्ने विषयमा 'प्रगति' भएको नेपाली पक्षले जनाएको छ।

दुई देशबीचको प्रबुद्ध समूह (ईपीजी) को बुधबार भारतको राजधानी दिल्लीमा सकिएको दुई दिने बैठकमा त्यसबारे विस्तृत छलफल भएको हो।

काठमाण्डूमा भएको पहिलो बैठकले खासगरी नेपालले असमान ठान्ने गरेको सन् १९५० को शान्ति तथा मैत्री सन्धिलाई छलफलको एउटा मुद्दाको रुपमा पहिचान गरेको थियो।

सहमति

प्रबुद्ध समूहको नेपालतर्फको सचिवालयका कार्यकारी निर्देशक यादवराज खनालले बैठकमा प्रगति भएको बताए।

उनले भने, “१९५० को सन्धिमा भएका कमी-कमजोरी हटाएर समयानुकूल सुधार गर्ने सहमति भएको छ, कुरा सकारात्मक रुपमा धेरै अगाडि बढेको छ।”

समूहमा भारत पक्षको नेतृत्व गरेका भारतीय जनता पार्टीका नेता भरतसिंह कोशियारीले पनि यसपटकको बैठकमा सन्धिबारे नेपाली पक्षको धारणा सुनिएको बीबीसीलाई बताए।

उनले भने, "भारतीय पक्षका पनि कतिपय गुनासा छन् र ती आगामी बैठकमा प्रस्तुत गरेर द्वीपक्षीय हितलाई ध्यानमा राखेर अघि बढ्छौं।"

विश्वास

उनका अनुसार विस्तृत छलफलपछि प्रबुद्ध समूहले आवश्यकता अनुसार दुबै देशका सरोकारवाला सरकारी अधिकारीहरुसँग पनि राय लिने छ।

तीन महिनापछि अर्को बैठक गर्ने सहमति भएको छ।

खनालले भने, “सन्धि लगायत दुई देशबीचको व्यापार, पारवहन, सिमाना, सामाजिक र सांस्कृतिक पक्षका बारेमा दुबै पक्ष सबै विषयमा एउटा निचोड पुग्ने गरी गृहकार्य गर्ने सल्लाह भएको छ।”

दुबै देशका सरकारबीचको सहमति अनुसार नै सन्धि/सम्झौताबारे छलफल थालिएको बताउने नेता कोशियारीले पनि प्रबुद्ध समूह साझा निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरेका छन्।