आँधीका कारण अन्यत्र सर्न निर्देशन

  • 5 अक्टोबर 2016
तस्वीर कपीराइट Reuters

अमेरिकाका फ्लोरिडा र साउथ क्यारोलाइना राज्यका गभर्नरहरुले म्याथ्यु नामक आँधी जाने बाटोमा पर्ने क्षेत्रका हजारौँ मानिसलाई अनिवार्य रुपमा अन्यत्र सार्न निर्देशन दिएका छन्।

स्थानीयबासिन्दाहरु तटीय क्षेत्रबाट अन्यत्र जान थालेपछि साउथ क्यारोलाइनाको चार्ल्स्टन शहरमा सवारीसाधन अस्तव्यस्त भएका छन्।

फ्लोरिडा राज्यका गभर्नर रिक स्कट्टले आँधी जाने बाटोमा पर्ने क्षेत्रका मानिसहरुलाई जतिसक्दो चाँडो सुरक्षित स्थानमा सर्न आग्रह गरेका छन्।

हेइटीको दक्षिण-पश्चिमी प्रायद्वीप भएर विनाश निम्त्याउँदै तेस्रो तहमा झरेको म्याथ्यु नामक आँधी अहिले बाहामास पुगेको छ।

खतरनाक

आँधीको वेग अहिले प्रतिघण्टा दुई सय किलोमिटरभन्दा बढी रहेको अधिकारीहरुले बताएका छन्।

एक दशकयताकै शक्तिशाली उक्त आँधीले बाहामासमा तीव्र गतिमा हावा, भारी वर्षा र खतरनाक आँधीबेहरी निम्त्याएको छ।

अमेरिकामा तटीय क्षेत्रका बासिन्दाहरुले अत्यावश्यक सामान भण्डारण गर्न थालेका छन्।

प्रतिघण्टा दुई सय ३० किलोमिटरको वेगमा मंगलबार शक्तिशाली म्याथ्यु आँधी हेइटीमा आएको थियो।

आंकलन

६ वर्षअघि गएको विनाशकारी भूकम्पपछि हेइटीका दशौँ हजार बासिन्दा अझै पालमुनि बस्दै आएका छन्।

अधिकांश सञ्चार सम्पर्क टुटेका छन् र सबैभन्दा बढी प्रभावित दक्षिण-पश्चिमी प्रायद्वीपमा मुख्य पुल ध्वस्त भएको छ।

अधिकारीहरुका अनुसार क्षतिको आंकलन गर्न गाह्रो भइरहेको छ।

म्याथ्यु आँधीका कारण हेइटी र छिमेकी डोमिनिकन रिपब्लिकमा हालसम्म ६ जनाको ज्यान गएको बताइएको छ र उक्त संख्या बढ्न सक्ने अनुमान गरिएको छ।