‘डा. केसीका माग सम्बोधन गर्न निर्देशन’

  • 6 अक्टोबर 2016
डा केसी
Image caption डाक्टर केसीले अख्तियार प्रमुख विरुद्ध महाभियोग लगाउनु पर्ने माग पनि राखेका छन्

प्रधानमन्त्री प्रचण्डले अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न शिक्षामन्त्री र स्वास्थ्यमन्त्रीलाई अख्तियारी सहित निर्देशन दिएको शिक्षामन्त्री धनिराम पौडेलले बताएका छन्।

प्रधानमन्त्रीसँग भएको छलफल पछि एकजना मन्त्रीले डाक्टर केसीलाई अनसन स्थगन गर्नका लागि आग्रह गरेका छन्।

हालसम्म सरकारले गरेका कामलाई आधार मानेर विश्वास गर्न डाक्टर केसीलाई भनिएको स्वास्थ्य मन्त्री गगन थापाले बताए।

अनसन

स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्रमा सुधारको माग गर्दै डाक्टर गोविन्द केसी आमरण अनसनमा बसेको बिहीबार ११ दिन पुगेको छ।

दिन दिनै स्वास्थ्य स्थिति गिर्दै गएको भनिएका केसीका बारेमा बिहीबार नै प्रधानमन्त्री, स्वास्थ्यमन्त्री र शिक्षा मन्त्रीकाबीचमा छलफल भएको बताइएको छ।

मन्त्रिपरिषदको बैठक लगतै भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफुहरुलाई डाक्टर केसीका मागहरु सम्बोधन गर्नका लागि सकिने सम्मका उपायको खोजी गर्न निर्देशन दिएको शिक्षामन्त्री धनिराम पौडेलले बताए।

उनले भने, "यो विषय अनौपचारिक रुपमा टुङगिए पछि ‌औपचारिक वार्ताबाट सहमति गर्नु पर्ने स्थिति हो भने पनि गर्न प्रधानमन्त्रीले निर्देशन गर्नु भएको छ, त्यो अनुसार नै हामीले उहाँहरुसँग सम्वाद बढाइरहेका छौं।"

प्रधानमन्त्रीको निर्देशन लगत्तै स्वास्थ्य मन्त्री गगन थापाले पत्रकार सम्मेलन मार्फत डाक्टर केसीका मागप्रति आफुहरु सकारात्मक रहेको भन्दै अनसन स्थगन गर्न आग्रह गरे।

उनले भने, "यो विषयमा मेरो आन्दोलनले केहि उपलब्धि प्राप्त गरेको छ र अरु थप उपलब्धिका लागी म निरन्तर लडाई लडदै जान्छु भन्ने मानेर आन्दोलन स्थगित गर्दिन डाक्टर केसीलाई आग्रह गरेको हुँ।"

विधेयक

सरकारले मनमोहन प्रतिष्ठान विधेयक फिर्ता लिएर चिकित्सा विज्ञान प्रतिष्ठानको नाम परिवर्तन गरेर मनमोहन स्मृति चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान बनाइसकेको छ।

त्यस्तै चिकित्सा शिक्षा नीति सम्बन्धी विधेयक संसदमा पेश भै प्रक्रियामा रहेको र त्यसमा आवश्यक सुधार गर्न सकिने मन्त्री थापाले बताए।

अर्को महत्वपूर्ण माग शुक्रबारसम्ममा सम्बोधन हुने उनले बताए।

मन्त्री थापाले भने, "चिकित्सा शिक्षा अध्ययन संस्थानमा डिनको नियुक्तिको कुरा वरिष्ठताका आधारमा गर्नु भनेर प्रधानमन्त्रीले निर्देशन दिनुभए बमोजिम बिहीवार प्रयत्न गर्दा पनि सकिएन। सम्भवत: शुक्रवार दिउँसो सम्ममा टुङगिन्छ होला।"

अनसनरत डाक्टर केसीको अर्को माग अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाभियोग लगाउनु पर्ने भन्ने विषयमा भने हाल सम्म कुनै प्रगति भएको छैन।

यो काम सरकारको नभै सांसदहरुको अधिकारको विषय भएको मन्त्रीहरुको भनाइ छ। जुन मागलाई अछि बढाउन डाक्टर केसीका समर्थकहरुले राजनीतिक भेटघाटलाई समेत अघि बढाएका छन्।