डा. केसीको अनसन ‘दशैंसम्म स्थगित’

  • 7 अक्टोबर 2016
डाक्टर केसी
Image caption केसीले नेपालीको दशैं खल्लो हुनसक्ने भन्दै आफ्नो सत्याग्रह स्थगित गरिएको जनाएका छन्

स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा व्यापक सुधारको माग गर्दै नवौं पटक आमरण अनसनमा रहेका डाक्टर गोविन्द केसीले आफ्नो अनसन दशैंसम्मका लागि स्थगित गरेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र उनका एक सहयोगीविरुद्ध महाअभियोगको प्रक्रिया थालनी गर्नु पर्ने माग समेत जोडदार रुपमा अघि सारेका केसीले १२ औं दिनमा आफ्नो आमरण अनसन स्थगित गरेका हुन्।

दशैंको बिदा शुरुहुनु एक दिन अघि अनसनस्थल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा शुक्रबार अबेर एक पत्रकार समेमलन गरेर उनले अनसन स्थगित गरिएको जानकारी गराएका हुन्।

'उत्साहजनक'

उनको प्रेस विज्ञप्तिको अंश सुनाउँदै डाक्टर अभिषेकराज सिंहले भने, “नीति निर्माणको जिम्मा लिएका सांसदहरु आफ्नो जिम्मेवारीबाट च्यूत भएर जनताले जिताएर पठाएको पदलाई जागिरका रुपमा उपभोग गरिरहेका बेला जनताहरु सडकमै उत्रिएर दण्डविहीनता र ‘लोकमानतन्त्र’को विरोध गर्नु उत्साहजनक कुरा हो।”

“दशैंको समयमा हाम्रो सत्याग्रह जारी राख्दा तिनै नागरिकको दशैं पर्व खल्लो हुन सक्ने तथ्यलाई ध्यानमा राख्दै दशैंभरको अवधिका लागि आजैका दिनदेखि सत्याग्रह स्थगित गरिएको जानकारी गराउँदछौं।”

चिकित्सा शिक्षा क्षेत्रमा भएको भनिएको बेथितिको अन्त्य हुनुपर्ने माग जोडदार रुपमा उठाउँदै आएका डा. गोविन्द केसीले आफूसँग दुई महिनाअघि भएका सम्झौता कार्यान्वयन गर्नेबारे राजनीतिक दल तथा सरकार गम्भीर नभएको भन्दै १२ दिन अघि नवौं चरणको आमरण अनसन शुरु गरेका थिए।

उनले चिकित्सा शिक्षा ऐन संसदको पछिल्लो अधिवेशनबाट पारित हुनुपर्ने र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख तथा अर्का एक आयुक्तविरुद्ध तत्काल महाभियोगको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका थिए।

यसै साता बीबीसी नेपाली सेवासँगको अन्तरवार्ताका क्रममा उनले सरकारले आफ्ना मागको बेवास्ता गरेको दु:खेसो व्यक्त गरेका थिए।

सरकारी अधिकारीहरुले भने उनका मागहरु पूरा हुने क्रममा रहेको बताउँदै आएका छन्।