हेइटीमा आँधी: २६० जनाभन्दा बढीको मृत्यु

  • 7 अक्टोबर 2016
haiti तस्वीर कपीराइट Reuters
Image caption आँधीका कारण हेइटीमा कतिपय स्थानमा विद्युत सेवा अवरुद्ध भएको छ।

हेइटीमा म्याथ्यु नामक आँधीका कारण जनधनको ठूलो क्षति भएको विवरणहरुमा प्रकाशमा आएका छन्।

मृत्यु हुनेको संख्या २ सय ६० भन्दा बढी पुगेको त्यहांको आपतकालीन सुरक्षा दस्ता 'सिभिल प्रोटेक्सन फोर्स'ले जनाएको छ।

कतिपय शहरहरुमा ८० प्रतिशतसम्म घरहरु नष्ट भएका छन्।

सुड प्रान्तमा ३० हजारजति घरहरु ध्वस्त भएका छन्।

शक्तिशाली

उक्त आँधीलाई क्याटेगोरी फोर आँधी अर्थात् आँधीको वर्गीकरणमा दोस्रो शक्तिशालीका रुपमा हेरिएको छ।

हेइटीमा अधिकांश क्षति शहरहरु र माछा मार्ने व्यवसायमा संलग्न तटीय गाउँहरुमा भएको छ।

रुखहरु ढलेका छन्, नदीहरुमा बाढी आएको छ र पुलहरु बगाएका छन्।

राहत संस्थाहरुले हेइटीका प्रभावित क्षेत्रमा फोन र विद्युत सेवा अवरुद्ध भएको तथा त्यहांका मानिसहरुले खाना र पानीको अभाव झेल्नुपरिरहेको बताएका छन्।

समस्या

अमेरिकी रेडक्रसकी एक जना प्रवक्ता सुजी ड फ्रान्सिसले भनिन्, “हामीले सबैभन्दा पहिले गर्ने कामहरुमा सञ्चारप्रणाली पुनर्स्थापित गर्नुहुनेछ। राहत सामाग्री बाड्न हामीसंग गोदामहरु पनि छन्”।

“यसैगरी खाना पकाउने भाडाहरु र स्वस्थ रहन आवश्यक पर्न चीजहरु चाहिनेछन्। हामीलाई सबैभन्दा बढी चिन्ता हैजाको छ, त्यसैले पानी शुद्धीकरण गर्ने सामाग्री हामी दिन्छौं”।

दक्षिणपश्चिमी हेइटीमा रहेका बीबीसीका टोनी ब्राउनका अनुसार प्रभावित क्षेत्रमा मानिसहरु सैनिक वा प्रहरीको सहयोग विना नै विनाशसंग जुझिरहेको र आफै पुन:निर्माणमा जुटिरहेको देखिएको छ।

राष्ट्रसंघीय मानवीय सहायता निकायका अनुसार करिब ३ लाख ५० हजार मानिस सहयोगको आवश्यकतामा छन्।

हेइटी र क्युबापछि बाहामसमा पनि आँधीले प्रवेश गरेको छ।

त्यहां रुखहरु र विद्युत प्रवाह गर्ने पोलहरु ढलेको विवरण आएका छन् तर कुनै मानवीय क्षतिको जानकारी छैन।