अश्लील टिप्पणीबारे ट्रम्पद्वारा क्षमायाचना

  • 8 अक्टोबर 2016
तस्वीर कपीराइट

अमेरिकामा रिपब्लिकन पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार डोनल्ड ट्रम्पले ११ वर्ष अघि महिलाबारे आफूले गरेको अश्लील टिप्पणीका शब्दले आफ्नो परिचय नदिने भन्दै माफी मागेका छन्।

उनले त्यस्तो टिप्पणी गरेको एउटा भिडियो सार्वजनिक भएपछि त्यसले ठूलो तरंग उत्पन्न गराइदिएको छ।

भिडियोमा ट्रम्पले आफु प्रसिद्ध मान्छे भएपछि महिलासंग जे गर्न पनि सकिने भन्दै महिलालाई छुने र चुम्बन गर्ने प्रयासका बारेमा कुरा गरेका छन्।

सन् २००५ को एउटा भिडियोमा ट्रम्पले एकजना विवाहित महिलासंग नजिक हुन खोजेको बताएका छन् र सुन्दर महिलाप्रति आफू आकर्षित हुने र उनीहरुलाई चुम्बन गर्ने प्रयास गर्ने गरेको बताएका छन्।

निन्दा

प्रसिद्ध मानिसलाई महिलाले जे पनि गर्न दिने पनि उनले उक्त भिडियोमा भनेका छन्।

रिपब्लिकन पार्टीका वरिष्ठ नेताहरुले ट्रम्पका टिप्पणीको निन्दा गरेका छन्।

संसदका सभामुख पौल रायनले आफूलाई अत्यन्त नराम्रो लागेको भन्दै यो सप्ताहान्तमा रिपब्लिकन पार्टीको एउटा समारोहमा आउन ट्रम्पलाई दिएको निम्ता फिर्ता लिएका छन्।

ट्रम्पकी प्रतिद्वन्द्वी हिलरी क्लिन्टनले ती टिप्पणीलाई डरलाग्दो भन्दै त्यस्तो मानिसलाई राष्ट्रपति बन्न दिन नहुने आफ्नो ट्वीटरमार्फत बताएकी छन्।

तर ट्रम्पले भने, "म गलत थिएँ, म माफी माग्छु। म भोली अझ राम्रो मान्छे बन्ने प्रयास गर्नेछु र तपाईंहरुलाई कहिले धोका नदिने वाचा गर्दछु।"

'असामयिक'

शनिबार बिहान ट्रम्पले दिएको ९० सेकेन्डको अभिव्यक्तिलाई लिएर उनले माफी त मागे तर त्यसका साथै भूतपूर्व राष्ट्रपति बिल क्लिन्टनमाथि आक्रमण पनि गरे।

बीबीसीका उत्तर अमेरिकाका संवाददाता एण्टोनी जर्कर भन्छन, "यो भिडियो ट्रम्पका लागि एकदम असामयिक छ।"

आईतबार उनी र हिलरी क्लिन्टनबीच बहस हुने भनिएको छ र त्यो बहसमा कसै न कसैले उनलाई त्यो भिडियोका बारेमा सोध्ने निश्चित छ।

त्यसको जवाफ दिन ट्रम्पलाई सजिलो हुने छैन र उनले गल्ती गरेमा त्यो बहसमा उनले भनेको अरु कुनै कुराले केही अर्थ राख्ने छैन।

भावी योजना

ट्रम्पले उक्त बहसमा बिल क्लिन्टनले महिलामाथि गरेको दुर्व्यवहार र ती महिलालाई हिलरी गरेको बेईज्जतीका बारेमा कुरा गर्ने बताएका छन्।

पछिल्लो मत सर्वेक्षण अनुसार मुख्य क्षेत्रहरुमा ट्रम्पभन्दा क्लिन्टन अगाडि छिन् र उनको प्रगति रोक्न ट्रम्पले आईतबारको बहसमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ।

ट्रम्पले गत ज्यानुअरी महिनामा सडकबीचमा बसेर कसैलाई गोली हाने पनि आफ्ना मतदाता नघट्ने भनेका थिए।

सम्भवत: आफ्ना पछिल्ला अभिव्यक्तिप्रति पनि मतदाताको त्यस्तै प्रतिक्रिया होस् भन्ने उनको अपेक्षा छ।