इथियोपियामा संकटकाल घोषणा

  • 9 अक्टोबर 2016
तस्वीर कपीराइट Reuters

इथियोपियामा देशका दुई सबभन्दा ठूला जातीय समूहले महिनौंसम्म सरकारविरोधी प्रदर्शन गरेपछि सरकारले संकटकालको घोषणा गरेको छ।

इथियोपियाका ६० प्रतिशत मानिस ओरोमो वा अम्हारा समूहका छन्।

अल्पसंख्यक अभिजात्य टिग्रेयन समूहले शक्ति कब्जा गरेको उनीहरुको गुनासो छ।

गत आईतबार ओरोमो समुदायको एउटा पर्वमा कम्तिमा ५५ जनाको मृत्यु भएदेखि इथियोपियामा हिंसा अझ भड्किएको छ।

विरोध

महिनौं लामो विरोध प्रदर्शनमा सयौंको मृत्यु भईसकेको र दसौं हजारलाई गिरफ्तार गरिएको मानव अधिकारवादी समूह बताउँछन्।

संकटकालको घोषणा गर्दै प्रधानमन्त्री हैलेमारियम डेजालेनले नागरिकको सुरक्षालाई प्राथमिकता दिईएको बताए।

छ महिना कायम रहने संकटकालले भौतिक संरचना, शैक्षिक संस्था, स्वास्थ्य केन्द्र र प्रशासनिक तथा न्यायिक भवनमा भईरहेको आक्रमण रोक्ने उद्देश्य राखेको उनले बताए।

विभिन्न क्षेत्रमा सरकारको दमनको विरोध गर्दै प्रदर्शनकारीले राजधानी अडिस अबब जाने धेरै सडक अवरुद्ध पारेका छन्।

हिंसा

पछिल्लो प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच भिडन्त हुँदा कम्तिमा ५५ जनाको मृत्यु भएको छ।

प्रहरीले प्रदर्शनकारीमाथि अश्रुग्यास प्रहार गरेको प्रत्यक्षदर्शीले बीबीसीलाई बताए।

प्रहरीले हिंसात्मक व्यवहारपछि मच्चिएको भागदौड मृत्युको कारण भएको प्रदर्शनकारीको आरोप छ।

तर प्रहरीले पहिले गोली हानेको भन्ने आरोप प्रधानमन्त्रीले अस्वीकार गरेका छन्।