यमनमा हवाई हमला: १४० भन्दा बढीको मृत्यु

  • 9 अक्टोबर 2016
तस्वीर कपीराइट AP
Image caption सामाजिक सञ्जालहरुमा प्रेषित भएका तस्वीरमा जलेर चिन्नै नसकिने र अंगभंग भएका लासहरु देखिन्छ

यमनस्थित संयुक्त राष्ट्रसंघका एकजना वरिष्ठ अधिकारीले भनेका छन्, एउटा अन्त्येष्टि कार्यक्रममा साउदी नेतृत्वको गठबन्धनले गरेको हवाई हमलामा १ सय ४० भन्दा बढी मानिसको मृत्यु भएको पुष्टी भएको छ।

मानवीय सहायताका लागि राष्ट्रसंघका संयोजक जेमी म्याकगोल्डरिकले यमनको राजधानी सनाको एउटा सामुदायिक हलमा शोक व्यक्त गर्न उपस्थित भएकाहरु माथिको हमलाले सहायताकर्मीहरु स्तब्ध र आक्रोशित भएको बताएका छन्।

ती मानिसहरुले, एकजना प्रभावशाली लडाकु नेताको बुवाको अन्त्येष्टिमा श्रद्धाञ्जली दिइरहेका थिए।

क्षति

यमनका लागि संयुक्त राष्ट्रसंघीय मानवीय सहायता संयोजक म्याकगोल्डरिकले हमलालाई भयावह भन्दै त्यसको निन्दा गरेका छन्।

शनिबार भएका हवाई हमला देखेर सहायताकर्मीहरु स्तब्ध भएको म्याकगोल्डरिकले बताए।

उनले ती हमलाको तत्काल अनुसन्धान गर्न पनि आह्वान गरे।

हुथी समूहले नियुक्त गरेका आन्तरिक मामिला मन्त्री गलाल अल रविसनका बुवाको अन्त्येष्टी कार्यक्रमलाई लक्षित गरी हमला भएका थिए।

रविसन विद्रोहीहरु र पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सलेहका सहयोगी हुन्।

अन्तर्राष्ट्रिय रेडक्रसकी रिमा कमालले भनिन्, "धेरै मानिसहरु उपस्थित रहेको स्थलमा धेरै हवाई हमलाहरु भए जहाँ मानिसहरु मन्त्रीका बुवाको अन्त्येष्टिमा श्रद्धाञ्जली दिनका लागि उपस्थित भएका थिए। हवाई हमला हुँदा उक्त स्थलमा सयौं गैरसैनिक उपस्थित थिए।"

समाचार संस्था एपीसँग कुरा गर्दै एकजना उद्धारकर्ताले, हमलापछिको स्थितिलाई रगतको तलाउका रुपमा व्याख्या गरेका छन्।

विस्थापन

सामाजिक सञ्जालहरुमा प्रेषित भएका तस्वीरमा जलेर चिन्नै नसकिने र अंगभंग भएका लाशहरु देखिन्छ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले लाशहरु राख्नका लागि ३०० वटा झोला तयार गरेको बताएको छ।

हवाई हमलामा परेको भवनमा व्यापक क्षति पुगेको छ।

हवाई हमलामा धेरै हुथी विद्रोही लडाकु र सुरक्षा अधिकारीहरुको ज्यान गएको ठानिएको छ।

उनीहरुको उपस्थितिले उक्त अन्त्येष्टि कार्यक्रमलाई लक्षित गरियो भन्ने बुझ्न सकिन्छ तर त्यहाँ धेरै गैरसैनिक पनि रहेको बीबीसी संवाददाताहरुले बताएका छन्।

यमनमा सन् २०१४ यता भइरहेको द्वन्द्वमा हजारौं नागरिकले ज्यान गुमाएका छन्।

त्यस्तै करिब ३० लाख मानिस विस्थापित भएका छन्।

तर साउदी नेतृत्वको गठबन्धनले भने उक्त अन्त्येष्टि कार्यक्रममा भएको हवाई हमला आफूले नगरेको बताएको छ।