लश्कर गाहमा तालेबान लडाकुको प्रवेश

  • 10 अक्टोबर 2016
तस्वीर कपीराइट Reuters

अफ्गानिस्तानको दक्षिणी प्रान्त हेलमण्डको राजधानी लश्कर गाहमा तालेबान लडाकुहरु प्रवेश गरेका छन्।

लडाइँ जारी छ तर उक्त क्षेत्रमा र वरपरका क्षेत्रमा लडाकुहरुको निरन्तरको अग्रताले उनीहरुलाई अफ्गान सरकारको थेग्न सक्ने क्षमताबारे चिन्ताहरु व्यक्त गरिएका छन्।

हेलमण्ड अफ्गानिस्तानको सबैभन्दा ठूलो प्रान्त हो जसको सुख्खा मरुभूमिको बीचबीचमा नदीले काटिएका ऊर्बर भूमि पर्दछन्।

आर्थिक रुपले पनि यस अर्थमा त्यो महत्वपूर्ण छ कि खाद्यान्न भण्डार पनि हो र अफिम खेतीको केन्द्र पनि।

रणनीतिक

रणनीतिक दृष्टिकोणले पनि त्यो महत्वपूर्ण स्थानमा छ किनभने छिमेकी पाकिस्तानसँग त्यसको सीमा जोडिएको छ र देशका ठूला शहरहरुलाई जोड्ने एउटा महत्वूर्ण स्थल पनि हो।

उत्तर एट्लान्टिक सन्धि संगठन नेटोले दुई वर्षअघि आफ्नो कारबाही अन्त्य गरेपछि तालेबान विद्रोही आफ्नो पूर्व केन्द्रलाई पुनः जित्न दृढ देखिन्थे।

उनीहरु साना ग्रामीण क्षेत्रबाट कहिल्यै धपाउन सकिएनन् र क्रमिक रुपमा साना शहरी केन्द्रलाई कब्जामा लिन लडिरहेका छन्।

र, लश्कर गाहमाथिको आक्रमण अन्तिम पाइला हो।

यदि प्रान्तीय राजधानीमाथि उनीहरुले कब्जा गरे र नियन्त्रण कायम राखिरहे भने पूरै प्रान्तमाथि कब्जा गर्नेछन्।

विध्वंशकारी

तस्वीर कपीराइट HMIC

त्यो उनीहरुका निम्ति ठूलो जीत हुनेछ।

त्यसका साथै महत्वपूर्ण आर्थिक क्षेत्रमाथिको नियन्त्रणले तालेबानसहित पाकिस्तानमा रहेका उनीहरुका सहयोगीलाई समेत सुरक्षित स्थान प्राप्त हुनेछ।

र, सांकेतिक रुपमा त्यो अफ्गान सरकार तथा अन्तर्राष्ट्रिय समुदाय र खासगरी सयौं ज्यान गुमाएका ब्रिटेन र अमेरिकाका निम्ति विध्वंशकारी हुनेछ।

पछिल्ला १५ वर्षयता पश्चिमाहरुले अफ्गान सरकारका निम्ति सुरक्षित स्थान र विकासका निम्ति केन्द्रका रुपमा लश्कर गाहलाई सम्हाल्दै आएका छन्।

अतः दुष्प्रचारको हिसाबले पनि अफ्गान सरकार र उसका सहयोगीहरुका निम्ति त्यो निकै महंगो साबित हुनेछ।