बांग्लादेशसँगको व्यापारमा पनि ‘घाटा’

  • 10 अक्टोबर 2016
तस्वीर कपीराइट

भारतसँग चर्को व्यापार घाटा बेहोरिरहेको नेपालले बांग्लादेशसँग पनि केही वर्षयता व्यापारमा घाटा बेहोर्न थालेको छ।

दुई पक्षीय वार्ताहरुमा नेपालले भारत र बांग्लादेश दुवैसँग बाटोको विषयमा जोड दिने गरेको छ।

तर त्यो बाटो भएर गर्ने व्यापारको हकमा नेपालले अझै आवश्यक कुरा बांग्लादेशसँग राख्न नसकेको जानकारहरु बताउँछन्।

खासगरी भुटानका वस्तुलाई बांग्लादेशले भन्सार छुट वा मिनाहा दिएजस्तै नेपालका सामानलाई पनि दिएको खण्डमा घाटा पूर्ति हुन सक्ने नेपाली व्यवसायीहरु बताउँछन्।

प्राथमिकता

नेपालले २०५४ सालबाट मुलुक बांग्लादेश व्यापार बढाउने उद्देश्यले पारवहन मार्ग पायो।

तर पारवहन मार्ग केही सहज भएपनि नेपालबाट निर्यात हुने वस्तुका बारेमा नेपाल सरकारले बांग्लादेश सरकारसँग प्राथमिकताका साथ कुरा गर्न नसकेको नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य केशवराज पाण्डेले बताए।

उनले भने, “विशेष गरेर हाम्रा कृषिजन्य उत्पादनहरु बांग्लादेश निर्यात गर्ने व्यवसायीहरुको सोच अनुसार बांग्लादेश सरकारसँग हाम्रो सरकारले कुरा गर्न नसकेकै हो।”

पूर्वी नेपालको काँकरभिट्टा नाका हुँदै बांग्लादेशको बांग्लाबन्द नाका पुग्न छोटो बाटो भएका कारण बांग्लादेशसँगको व्यापार बढाउन पहल गरे नेपालका कृषिजन्य वस्तु बांग्लादेश निर्यात गर्न प्रशस्त सम्भावना रहेको पाण्डेको बुझाई छ।

उनका अनुसार जसरी भुटानलाई बांग्लादेश वस्तु निर्यात गर्दा बांग्लादेशले भन्सार ड्युटीमा छुट वा मिनाहा गरिदिएको छ त्यस्तै नेपाललाई पनि बांग्लादेशले छुट वा मिनाहा गरिदिए नेपालका वस्तु बांग्लादेश निर्यात गर्नका लागि सहज हुनेछ।

पाण्डेले भने, “बढी भन्सार ड्युटीकै कारण हाम्रा अदुवा, अम्रिसो, जडीबटी लगायत वस्तु हामीले निर्यात गर्न सकिरहेका छैनौँ।”

पारवहन मार्ग पाएको केही वर्षसम्म नेपाल र बांग्लादेशबीचको व्यापार नाफामा रहे पनि केही वर्षदेखि दुई देशबीचको व्यापारमा नेपालले घाटा बेहोरिरहेको छ।

मिनाहा

गत एप्रिल महिनामा भन्सार ड्युटी मिनाहा वा छुट गर्ने विषयमा कुरा गर्न वाणिज्य मन्त्रालयको टोली ढाका गएको थियो।

बांग्लादेशका अधिकारीहरु उक्त विषयमा सकारात्मक देखिएपनि नेपाल सरकारबाटै पहल गर्न ढिलो भएको वाणिज्य मन्त्रालयका अधिकारीहरुको स्वीकारोक्ति छ।

सोही विषयमा यही अक्टोबर १६ तारिक नेपाल र बांग्लादेशका वाणिज्य मन्त्रीहरुको बैठकका लागि प्रयास भइरहेको वाणिज्य मन्त्रालयका प्रवक्ता रविशंकर सैजुले बताए।

उनले भने, “सोही विषयमा यही अक्टोबर १६ तारिख ढाकामा हाम्रा वाणिज्यमन्त्री र बांग्लादेशका वाणिज्यमन्त्रीबच कुराकानीका लागि प्रयास भइरहेको छ।”

उनका अनुसार राजनीतिकस्तरको छलफलपछि नेपालका सामान बांग्लादेशका निर्यात गर्दा लाग्ने भन्सार ड्युटी छुट वा मिनाहाको विषयलाई प्राविधिक समितिको बैठकले किनारा लगाउने छ।