दशैँ सन्देश: संविधान कार्यान्वयनमा जोड

  • 11 अक्टोबर 2016
तस्वीर कपीराइट .

दशैंको अवसरमा शुभकामना सन्देश दिने क्रममा देशका प्रमुख नेतृत्वकर्ताहरुले एकता र सहकार्यको माध्यमबाट प्राप्त उपलब्धिलाई रक्षा गर्नुपर्ने बताएका छन्।

उपराष्ट्रपतिले भने आफ्नो शुभकामना संदेशमा संविधान कार्यान्वयनले अपेक्षाकृत गति लिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

दशैँ लगत्तै आउन लागेका तिहार र छठ लगायतका पर्वको अवसरमा राष्ट्रप्रमुख समेत रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिँदै चाडपर्वहरू सबै जातजाति र धर्मावलम्बीको साझा फूलबारीका प्रतीकका रुपमा रहेको बताएकी छन्।

आफ्नो शुभकामना संदेशमा उनले भनेकी छन्," संविधानमार्फत प्राप्त राजनीतिक, संवैधानिक एवम् सामाजिक उपलब्धिको जगेर्ना गर्दै समुन्नत नेपाल निर्माणको अभियानमा सकारात्मक सोच राखी अघि बढ्न र सोही अनुरुपको व्यवहार गर्न सबैलाई आग्रह गर्दछु"।

जोड

प्रधानमन्त्री प्रचण्डले आफ्नो शुभकामना संदेशमा दशैँ लगायतका सांस्कृतिक पर्वले नेपाली समाज र मानव जीवनमा भातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्‍याउँदै आएको बताउँदै यसलाई विकसित तुल्याएर राष्ट्रिय एकता हासिल गर्दै समृद्धि र सामाजिक परिवर्तनलाई संस्थागत गर्नु बताएका छन्।

आफ्नो संदेशमा प्रधानमन्त्रीले राजनीतिक र सामाजिक परिवर्तन प्राप्तिका लागि दिइएका बलिदानी र एकताको स्मरण गर्दै आन्तरिक राष्ट्रियता बलियो पारी संविधान कार्यान्वयन गर्न एकता र सहकार्य अनिवार्य रहेको उल्लेख गरेका छन्।

उपराष्ट्रपति नन्दकिशोर पुनले जारी गरेको शुभकामना संदेशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र भौगोलिक विविधताले भरीपूर्ण देशलाई मौलिक संस्कार, संस्कृति तथा चाडबाडले झनै सुन्दर बनाइरहेको उल्लेख गरेका छन्।

असन्तोष

अघिल्लो वर्षको दशैँ संविधान जारी गरेर मनाएको स्मरण गर्दै उपराष्ट्रपति पुनले संविधान जारी पछिको दोस्रो दशैँ मनाउँदै गर्दा संविधान कार्यान्वयन प्रक्रियाले अपेक्षाकृत गति लिन नसकेकोमा असन्तोष व्यक्त गरेका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना दिँदै विविधता बीचको एकता नै नेपालीको परिचय भएको बताएका छन्। एमाले अध्यक्ष केपी ओलीले आफ्नो संदेशमा संविधानले निर्धारण गरेको समयसीमाभित्र संविधानको प्रभावकारी कार्यान्वयनका लागि सबै राजनितिक शक्तिहरुमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।