भेरी-बबई सिँचाइ: सुरुङ बनाउने तयारी तीव्र

  • 13 अक्टोबर 2016
bheri
Image caption सिँचाइ र विद्युत उत्पादन दुवै हुने गरी भेरी-बबई सिँचाइ आयोजनाको परिकल्पना गरिएको छ

राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजना अन्तर्गत सुरुङ खन्नका लागि आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको अधिकारीहरुले बताएका छन्।

पहिलोपटक नेपालमै अत्याधुनिक ‘टनेल बोरिङ मसिन’ प्रयोग गरी सुरुङ खनेर एकसाथ विद्युत र सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ।

चीनमा ‘टनेल बोरिङ मसिन’ निर्माण समेत भइरहेको बताइएको छ।

लक्ष्य

भेरी–बबई बहुउद्देश्यीय आयोजनाअन्तर्गत सुर्खेतमा बगेको भेरी नदीको प्रति सेकेन्ड ४० घनमिटर पानी बबई नदीमा खसाल्ने योजना छ।

जसबाट ४८ मेगावाट विद्युत उत्पादन हुने र बाँके तथा बर्दियाको ६० हजार हेक्टर जमिनमा बाह्रै महिना सिँचाइ पुर्याउने बताइएको छ।

विक्रम सम्वत् २०७१ सालमा शिलान्यास गरिएको उक्त आयोजनाको काम पूर्वयोजना अनुरुप नै भइरहेको आयोजना प्रमुख शिवकुमार बस्नेतले बताए।

उनले भने,"त्यहाँसम्म पुग्न हामीले झण्डै सवा दुई किलो मिटर बाटो बनाउनुपर्छ। त्यो काम चाहिँ हामीले करिब सम्पन्न गरिसकेका छौं। टनेल बोरिङ मसिनसंग सम्बन्धित काम पनि एक महिनामा पूरा हुनेगरी भइरहेको छ। यो परियोजनाभित्रको जतिपनि निर्माणका कामहरु छन्, ती सबै आ-आफ्नो गतिमा अगाडि बढिरहेको छ। यसको प्रगतिबाट म सन्तुष्ट छु।"

हाल भइरहेका कामहरु सुरुङ खन्नु पूर्वको तयारी भएको बताइएको छ।

जटिल

आयोजनाको सबैभन्दा महत्वपूर्ण र जटिल मानिएको ‘टनेल बोरिङ मसिन’को प्रयोग गरेर १२ किलोमिटर सुरुङ खन्ने काम चाहिँ अर्को वर्षको यही महिनाबाट शुरु गर्ने योजना छ।

जसका लागि ‘टनेल बोरिङ मसिन’ चीनमा निर्माण भइरहेको आयोजना प्रमुख बस्नेतले बताए।

उनले भने, "केही आफ्नै स्तरसम्म डिजाइनको काम सकेर कुल उत्पादनका कामहरु पनि शुरु भइसकेको छ। हाम्रो साइटसम्म आइपुग्नलाई के कस्तो हुन्छ भनेर निर्माण व्यवसायीले अध्ययन गरेर प्रस्ताव गर्ने प्रक्रियामा छ। अबको जुलाई-अगस्टसम्ममा आएर टनेल बोरिङ मसिन खडा गर्ने काम शुरु हुने अवस्था छ।"

स्थानीयस्तरमा वातावरणीय प्रभाव न्यूनीकरण र त्यहाँका विकास निर्माणका काम समेत भइरहेको जनाइएको छ।

यस वर्षका लागि करिब ८४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको र त्यो पर्याप्त रहेको बताइएको छ।

नेपालमै पहिलोपटक उक्त आयोजनमा प्रयोगमा ल्याउन लागिएको 'टनेल बोरिङ मसिन'को प्रयोग सफल भएमा विभिन्न नदीहरुको पानी सुरुङमार्गबाट अर्को ठाँउसम्म पुर्याउने र त्यसबाट विद्युत उत्पादन गर्ने र सिँचाइ सुविधा पुर्याउने बाटो खुल्ने अपेक्षा गरिएको छ।