'बौद्ध सर्किट बनाउन नेपाली पक्ष उदासीन'

  • 12 अक्टोबर 2016
Image caption बुद्ध धर्म सम्बन्धी महत्वपूर्ण स्थानमध्ये बोधगया, सारथान र कुशीनगर भारतमा पर्छ

नेपाल र भारतमा रहेका बुद्ध धर्म सम्बन्धी ऐतिहासिक स्थान जोड्ने गरी बुद्ध परिक्रमा पथ अर्थात बौद्ध सर्किट बनाउने भनि दुई देशका अधिकारीहरुबीच सहमति भए पनि नेपाली पक्ष भने कार्यान्वयनमा उदासीन देखिएको सरोकारवालाहरुले बताएका छन्।

नेपाल र भारतको बुद्ध धर्म सम्बन्धी ऐतिहासिक स्थान जोड्ने बौद्ध सर्किट बनाउने विषयमा भएको सहमति कार्यान्वयनमा नेपाली पक्ष उदासीन भएकोमा सरोकारवालाहरुको गुनासो देखिएको छ।

खासगरी बौद्ध सर्किटको लागि नेपालमा आवश्यक पूर्वाधारको विकासका लागि सरकारले कुनै काम अगाडि नबढाउँदा उक्त सर्किट हुँदै लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन सक्ने अवस्था नरहेको उनीहरु बताउँछन्।

पर्यटक

सरोकारवालाहरु भन्छन्, भारतको बाटो हुँदै गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा आउने विदेशी पर्यटकहरुको संख्या बढे पनि उनीहरु त्यहाँ करिब एकदुई घण्टा भन्दा बढी बस्नसक्ने वातावरण नै छैन।

बुद्ध धर्म सम्बन्धी चारवटा महत्पूर्ण स्थानमध्ये बोधगया,सारनाथ र कुशीनगर भारतमै पर्छ।

नेपाल र भारतका अधिकारीहरुबीच पछिल्लोपटक भएको सहमति अनुसार भारतले यी स्थानलाई जोड्ने बौद्ध सर्किटमा हालै नेपालको लुम्बिनी पनि थपेको छ, तर नेपालमा यसको थप तयारी भने केही पनि देखिएको छैन।

लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु निग्रोध भन्छन्, "बौद्ध, चारधाम र बुद्धका जीवनीसंग सम्बन्धित स्थलहरुलाई ध्यान दिने काम भइरहेको छ। र यो चाहिँ सरकारले माथिबाट नै हेरिरहेको जस्तो पनि लागेको छ।‍"

उपाध्यक्ष निग्रोधका अनुसार नेपालमा केही पुर्वाधारको विकास गर्न सके यी सबै क्षेत्रभन्दा महत्वपूर्ण क्षेत्र बुद्धको जन्मस्थल लुम्बिनीले धेरै पर्यटकलाई तान्नुका साथै उनीहरुको बसाई लम्ब्याउन सक्ने प्रशस्त सम्भावना छ।

उपाध्यक्ष भिक्षु निग्रोधले भने, "हामीले यहाँको वातावरण र त्यही अनुसारको पूर्वाधार निर्माण चाहिँ गर्दै जानुपर्छ। भारत सरकारले उक्त सर्किटको लागि जुन प्राथमिकताका साथ लागि परेको छ, नेपालले पनि त्यहि हिसाबमा हामी पनि लाग्दै गयो भने त्यो लक्ष्यमा पुग्न सकिन्छ।"

पूर्वाधारको विकास

उक्त सर्किटमा नेपालका बुद्ध धर्म सम्बन्धी अन्य महत्वपूर्ण स्थानहरु समेट्न सके नेपालले ठुलो लाभ लिन सक्ने तर त्यसका लागि पनि पुर्वाधारनै जरुरी भएको लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्य बताउँछन्।

उनी भन्छन्, "बुद्धले आफ्नो परिनिर्वाणको बेलामा पनि आफ्नो जीवनकालमा यस्तो स्थानको भ्रमण गर्नु भनेर भन्नु भएको छ। अहिले नेपालको तर्फबाट त्यो पूर्वाधारको विकास भइसकेको छैन। त्यो पूर्वाधार पनि विकास गर्ने र बुद्ध सर्किटलाई जोड्न सकियो भने यसले नेपाललाई लाभ हुन्छ।"

पर्यटन मन्त्रालयले करिब डेढ वर्ष अगाडि लुम्बिनी क्षेत्रकै देवदह, तिलौराकोट, राम नगर आदि स्थानलाई जोडेर करिब १ सय ७० किलोमिटर लामो लुम्बिनी सर्किट बनाउने योजना सार्वजनिक गरेको थियो, तर त्यो काम पनि अगाडि बढ्न भने अझै सकेको छैन।