राजाको निधनपछि थाइल्याण्डमा शोक

  • 14 अक्टोबर 2016
thailand तस्वीर कपीराइट AP
Image caption थाइल्याण्डका राजा पूमिपोन अदून्यदेत निकै लोकप्रिय थिए

थाइल्याण्डका जनता आफ्ना राजा पूमिपोन अदून्यदेतको निधनपछि शोकमा छन्।

त्यहाँ झण्डाहरु आधा झुकाइएका छन् र त्यो क्रम एक महिनासम्म चल्ने बताइएको छ।

त्यतिनै समयका लागि अन्य रमाइला उत्सवहरु नमनाउन मानिसहरुलाई भनिएको छ।

सबै स्वदेशी टेलिभिजन स्टेशनहरुले राजाको जीवनी प्रसारण गरिरहेका छन्।

बीबीसीसहितका विदेशी टेलिभिजन च्यानलहरुको प्रसारण रोकिएको छ।

दिवंगत राजाको शरीर अस्पतालबाट ब्याकंकस्थित एमरल्ड मन्दिरमा शुक्रबार सारिने राजदरबारका अधिकारीहरुले बताएका छन्।

नयां राजा

६४ वर्षे युवराज महा वाचिरालंगकुन नयां राजा हुने पक्का भएको छ।

तर उनले उक्त जिम्मेवारी सम्हाल्नुपूर्व आफूले केही समय लिन चाहेको बताएका छन्।

राजा पूमिपोन राजनीतिक उतारचढाव भइरहने थाइल्याण्डमा स्थायित्वको प्रतिकका रुपमा थिए।

उनलाई देशभरि नै सम्मान गरिन्थ्यो र ईश्वरकै अंशकै रुपमा मानिन्थ्यो।

आफ्ना बाबुको जस्तै सम्मान कायम राखिराख्न युवराजलाई ठूलो चुनौती हुने आकलन गरिएको छ।

राजपरिवारबारे सार्वजनिक छलफल गर्न बन्देज लगाउने कडा कानुनहरु रहेकाले युवराजबारे निकै थोरैमात्रै जानकारी छ।

तरपनि एकपटक उनकै आमाले उनलाई महिलालाई रोचक ठान्ने पुरुषका रुपमा व्याख्या गरेकी थिइन्।

युवराजले विवाह गर्दै तीनपटक सम्म पारपाचुके गरेका छन् र उनका कम्तीमा सात जना सन्तान छन्।