‘गलत सूचनाका आधारमा सानामा बमबारी’

  • 15 अक्टोबर 2016
तस्वीर कपीराइट Reuters

यमनमा हूथी विद्रोहीविरुद्ध बमबारी गर्दै आएको साउदी अरेबिया नेतृत्वको गठबन्धन फौजले राजधानी सानामा ‘गलत सूचना’का आधारमा एउटा अन्त्येष्टि गृहमा आक्रमण हुन गएको बताएको छ।

उक्त आक्रमणमा कम्तीमा १४० जना मारिएका थिए जसमध्ये अधिकांश आमनागरिक थिए।

अक्टोबर ८ तारिखमा गरिएको उक्त आक्रमणमा दुई वर्षदेखि जारी यमनको द्वन्द्वमा एकैदिन मारिने सबैभन्दा धेरै मानिसको संख्या थियो।

एउटा छानबिन टोलीले ‘गठबन्धनको नियमसंगत’ आक्रमण नभएको र ‘गलत सूचना जारी गरिएको’ देखाएको छ।

आलोचना

उक्त आक्रमणको अन्तर्राष्ट्रियस्तरमा कडा आलोचना गरिएको थियो।

साउदी अरेबिया नेतृत्वको १४ मुलुकको संयुक्त घटना मूल्यांकन टोलीले गठबन्धनको लडाकु विमानलाई अन्त्येष्टि गृह हूथी नेताले भरिएको भनी गलत सूचना दिइएको जनाएको छ।

उसले यमनका राष्ट्रपतिका प्रमुख प्रशासकसँग सम्बन्धित पक्षलाई जिम्मेवार ठहर्याएको छ।

साथै छानबिन टोलीले गठबन्धन कमाण्डबाट अनुमति नलिई हवाई सञ्चालन केन्द्रले लडाकु विमानलाई आक्रमणका लागि निर्देशन दिएकोमा केन्द्रलाई पनि दोषी ठहर गरेको छ।

टोलीले पीडित परिवारलाई क्षतिपूर्ति दिन समेत सुझाव दिएको छ।

पुनरावलोकन

तस्वीर कपीराइट Reuters

गठबन्धन फौजको बमबारीमा अनुमानित ६०० सय मानिसहरु घाइते भएका थिए।

छानबिन टोलीले भनेको छ, “गठबन्धनले कारबाहीसम्बन्धी आफ्ना नीतिहरुको तत्काल पुनरावलोकन गर्नुपर्दछ र भविष्यमा नियम पालना गरेको सुनिश्चित गर्नका निम्ति प्रक्रियालाई अद्यावधिक गर्नुपर्दछ।”

अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी राष्ट्रपति अब्द्राब्बुह हादी मंसुर नेतृत्वको सरकार र हूथी विद्रोहीबीच दुई वर्षयता संघर्ष जारी छ।

साउदी अरेबिया नेतृत्वको गठबन्धनले विद्रोहीलाई इरानले सघाउँदै आएको आरोप लगाउँदै राष्ट्रपतिलाई सघाइरहेको छ।

संयुक्त राष्ट्रसंघका अनुसार यमनमा जारी द्वन्द्वमा हालसम्म ६ हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, जसमध्ये धेरै आमनागरिक छन्।