क्लिन्टनले 'औषधि लिएको' ट्रम्पको आरोप

  • 16 अक्टोबर 2016
तस्वीर कपीराइट AP
Image caption ट्रम्प र हिलरीबीच तेस्रो तथा अन्तिम प्रत्यक्ष टेलिभिजन बहस आउँदो बुधबार हुँदैछ

अमेरिकी राष्ट्रपतिका लागि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पले आफ्नी प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीकी हिलरी क्लिन्टनले पछिल्लो प्रत्यक्ष टेलिभिजन बहस पूर्व कुनै प्रकारको औषधि प्रयोग गरेको आरोप लगाएका छन्।

न्यु हेम्शरमा भएको र्यालीमा बोल्दै उनले क्लिन्टनलाई निर्वाचित गराउन चुनावी दौडमा धांधली गरिएको यसअघिको आफ्नो दाबी पनि दोहोर्याएका छन्।

<span >टिप्पणी

ट्रम्पले यौन दुर्व्यवहार गरेको भन्ने ताजा आरोपहरु सार्वजनिक भइरहेका बेला र उनको चुनावी अभियान मुख्य राज्यहरुमा फितलो बन्दै गएको बेला उनको यस्तो टिप्पणी आएको हो।

क्लिन्टनमाथि ट्रम्पको व्यक्तिगत आक्रमण बढ्दै गइरहेको छ।

ट्रम्पले यसअघि नै क्लिन्टनलाई धूर्त उपमान दिइसकेका छन्।

आफू राष्ट्रपति भए क्लिन्टनलाई कारागारमा राख्ने ट्रम्पले बताएपछि उनका समर्थकहरुले ‘क्लिन्टनलाई थुन’ भन्दै नारा लगाएका थिए।

ट्रम्पले क्लिन्टनसँग देशको प्रमुख कमाण्डर हुनका लागि आवश्यक तागत नभएको आरोप पनि लगाए ।

तर अहिले उनी त्यो भन्दा पनि अगाडि बढेर आफूहरु दुवैले कुनै किसिमको शक्तिवर्द्धक औषधि प्रयोग गरेको वा नगरेको भन्नेबारे परीक्षण हुनुपर्ने बताएका छन्।

अपमानजनक

पछिल्लो बहसका क्रममा क्लिन्टन सुरुमा अलि बढी नै उत्साही भएको र पछि उनलाई आफ्नो कारसम्म पुग्न पनि मुस्किल भएको ट्रम्पले बताए।

उनले भने, "हामीले शक्तिवर्द्धक औषधि लिए नलिएको बारे परिक्षण गर्नुपर्छ। किनभने मलाई थाहा छैन क्लिन्टनलाई पछिल्लो बहसको क्रममा के भएको थियो, सुरुमा उनलाई धेरै उत्साहित देखिएको थियो तर अन्त्यमा मुस्किलले उनी आफ्नो कारसम्म पुग्न सकिन्। त्यसैले हामीले औषधिको प्रयोगबारे परिक्षण गर्नपर्छ। जे भए पनि म यसका लागि तयार छु।"

क्लिन्टनको चुनावी अभियान टोलीले ट्रम्पको त्यस्तो आरोपलाई अपमानजनक भन्दै उनले चुनावी महत्व घटाउन गरेका लज्जास्पद प्रयास मतदाताले बुझेकाले अभूतपूर्व संख्यामा उनीहरु नोभेम्बरको चुनावमा सहभागी हुने बताएको छ।