माथिल्लो तामाकोसी '०७४/०७५ भित्रै'

  • 16 अक्टोबर 2016

उत्तरी दोलखामा निर्माण भइरहेको ४५६ मेगावाट क्षमताको हालसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको ८० प्रतिशतभन्दा बढी काम सकिएको अधिकारीहरुले बताएका छन्।

माथिल्लो तामाकोसी नेपालले आफ्नै लगानीले बनाइरहेको राष्ट्रिय गौरवको आयोजना हो।

तर भूकम्प र सीमा अवरोधका कारण भएको ढिलाईका कारण माथिल्लो तामाकोसीबाट उत्पादित बिजुली उपभोग गर्न अझै दुई वर्ष कुर्नुपर्ने सो आयोजनाका प्रमुखले बताएका छन्।

नेपालभित्रै उपलब्ध दक्षता र पुँजी लगानी गरी उत्तरी दोलखामा निर्माण भइरहेको उक्त जलविद्युत आयोजनाको काम आउने मंसिरमा पूरा गर्ने प्रारम्भिक योजना थियो।

कार्यतालिका

त्यसमा केही ढिलाई भएपनि आयोजनाको काम अब निकै धेरै सकिइसकेको सो आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले बीबीसीलाई बताए।

उनले भने, “अहिले ८१ प्रतिशत जति काम सकिएको छ र हामी आयोजनाको शिरतिर सडक सँगै अन्य संरचना बनाउन व्यस्त छौँ। हाम्रो नयाँ कार्यतालिका अनुसार आर्थिक वर्ष २०७४/०७५ सम्ममा निर्माण पूरा हुनेछ।”

प्रमुख श्रेष्ठका अनुसार गत वर्षका भूकम्पका धक्काले आयोजनाको संरचनामा उल्लेख्य क्षति पुर्याएन।

तर त्यसपछि नेपाल-भारत सीमानाकामा गरिएको अवरोधका कारण निर्माण सामाग्री जोहो गर्न त्यति सहज भएन र आयोजनाको संरचना निर्माण कार्यमा केही ढिलाई गयो।

त्यसमाथि हरेक वर्षा याममा हुने भारी वर्षात र आयोजना क्षेत्रमा जाने पहिरोले माथिल्लो तामाकोसी निर्माणमा चुनौती थप्ने गरेको छ।

त्यो क्रम यसपालि पनि जारी रहेको श्रेष्ठले बताए।

उनले थपे, “निर्माणका लागि सबैभन्दा ठूलो चुनौती प्राकृतिक विपद् जस्तै बाढी पहिरो हुन्। अनि सानो सानो निहुँमा हुने बन्द हडतालले पनि आयोजनाको कामलाई असर पार्ने गरेको छ।”

विगत सात वर्षअघि निर्माण थालिएको माथिल्लो तामाकोसी पनि नेपालमा अन्य पूर्वाधार आयोजना जस्तै बन्द, हडताल जस्ता मानव निर्मित चुनौतीबाट प्रभावित रहँदै आएको छ।

उत्पादन

शुरुमा ३५ अर्ब रुपैयाँको लागत रहेको भएपनि ढिलाईका कारण माथिल्लो तामाकोसी आयोजनाको लागत १० प्रतिशतले बढेर करिब ४० अर्ब रुपैयाँ पुग्न सक्ने चिन्ता अधिकारीहरुको छ।

तस्वीर कपीराइट .

माथिल्लो तामाकोसी जलविद्युत आयोजना क्षेत्र पुग्नका लागि करिब ७० किलोमिटर लामो सडक बनाउने योजना थियो।

आयोजना प्रमुखका अनुसार सो सडक अहिले आयोजनाको शिरसम्मै बनिसक्न लागेको छ तर कठिन भौगोलिक अवस्थाका कारण ठाउँ-ठाउँमा सडकका लागि पनि सुरुङ बनाउनु परिरहेको उनको भनाई छ।

अधिकारीहरुको आशा छ, अबको करिब दुई वर्षपछि जब माथिल्लो तामाकोसी जलविद्युत केन्द्रका ६ वटै टर्बाइन घुम्न थाल्नेछन्, त्यतिबेला मध्य नेपालको एक प्रमुख नदीजन्य जलविद्युत आयोजनाबाट ठूलो परिमाणमा बिजुली उत्पादन शुरु हुनेछ।

त्यसले बिजुलीमा बढ्दै गएको नेपालको भारत निर्भरतालाई उल्लेख्य रुपमा घटाउन सक्छ।

सँगसँगै माथिल्लो तामाकोसीले नेपाली सामर्थ्यमै ठूला आयोजना निर्माण गर्ने सकिन्छ भन्ने आत्मविश्वास बढाइदिन सक्छ।