अलेप्पोमा एकै परिवारका १४ को मृत्यु

  • 17 अक्टोबर 2016
तस्वीर कपीराइट Reuters

सिरियामा विद्रोही नियन्त्रित पूर्वी अलेप्पो शहरमाथि हवाइ हमला गरिंदा एकै परिवारका १४ जना मारिएको स्वयंसेवक उद्धारकर्ताहरुले बताएकाछन्।

मृतक मध्ये ८ जना बालबालिका र २ जना महिला रहेको व्हाइट हेल्मेट्स नामक नागरिक सुरक्षा फौजले जनाएको छ।

रुसी लडाकु विमानको हमलापछि सोमबार अल-मार्जा क्षेत्रमा उक्त परिवारको मृत्यु भएको सिरियाको नागरिक सुरक्षा फौज व्हाइट हेल्मेट्सले जनायो।

आइतबार अल-कतर्जी जिल्लाको एउटा आवास भवनमाथि आक्रमण हुँदा २५ जना मारिएको उक्त समूहले बतायो।

'युद्धविराम आवश्यक'

उद्धारकर्ताहरुले क्रेनको मद्दतले एकजना १२ वर्षीय बालकलाई एउटा भवनको माथिल्लो तलाबाट बाहिर निकालेको एएफपीसमाचार संस्थाले जनाएको छ।

२ लाख ७५ हजार वासिन्दा रहेको उक्त शहरको घेराबन्दीमा परेका क्षेत्रमा सहायता सामग्री लैजान र नागरिकहरुलाई बाहिर निस्कन दिनका लागि ७२ घण्टाको युद्धविराम अत्यन्त आवश्यक भएको सहायता संस्थाहरु बताउँछन्।

गत महिना तय गरिएको एउटा युद्धविराम केही दिनमै भंग भएको थियो।

त्यसेबलादेखि रुसको समर्थन सहित सिरियाली सेनाले अलेप्पो शहरमाथि आक्रमण गरिरहेका छन्।

प्रतिबन्ध

तस्वीर कपीराइट Reuters

ती आक्रमणलाई वाशिंटनले भने 'युद्ध अपराध' भनेको छ।

विगत २४ घण्टामा अलेप्पो शहरमा भारी बम आक्रमण भएको एकजना शहरबासीले बीबीसीलाई बताए।

युरोपेली संघकी विदेश मामिला प्रमुख फेडेरिका मोघेरिनीले सिरियामाथि लागू गरिएका प्रतिबन्धहरु लम्बिन सक्ने बताएकी छन्।

तर सिरियाली राष्ट्रपति बशर अल असदका समर्थकमाथि भने प्रतिबन्धहरु बढाउने योजना नरहेको मोघेरिनीले बताइन्।

भविष्य

सोमबार लक्जम्बर्गमा हुन गैरहेको युरोपेली संघको बैठकमा ब्रिटेन, फ्रान्स र जर्मनीले रुस र सिरियाले जारी राखेको आक्रमणको कडा भर्त्सना गर्न दबाब दिने अपेक्षा गरिएको छ।

उक्त बैठकमा पर्यवेक्षण कार्यक्रम सहितको नयाँ युद्धविराम, शान्तिवार्ताका लागि थप प्रयास, युरोपेली संघको सहायताको पहुँच र सर्वसाधारण माथि आक्रमण गर्ने आदेश दिएको आशंका गरिएका करीब २० जना सिरियाली माथि आर्थिक प्रतिबन्ध जस्ता विषयमाथि छलफल हुने अपेक्षा गरिएको छ।