भारत भ्रमण फलदायी: प्रधानमन्त्री

  • 17 अक्टोबर 2016
तस्वीर कपीराइट .

पूर्व निर्धारित नभएपनि भारतको भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्डले चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग एकसाथ भएको भेट उपलब्धिपूर्ण रहेको बताएका छन्।

ब्रिक्स र विमस्टेकको सम्मेलनमा सहभागी भई सोमबार नेपाल फर्किएका प्रधानमन्त्री प्रचण्डले आफूले दुबै नेतासँग त्रिदेशीय साझेदारीको आवश्यकता औंल्याएको र दुबैजनालाई त्यसमा सकारात्मक पाएको बताए।

उनीहरुले नेपालमा संविधान कार्यान्वयन तथा शान्ति प्रक्रिया लागयतका काममा पूर्ण सहयोग रहने वचन पनि दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

ब्रिक्स र विमस्टेकको सम्मेलनमा सहभागी हुन गत शनिबार प्रधानमन्त्री प्रचण्ड गोवा गएका थिए।

सम्मेलनका क्रममा विभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखसँग भेटघाट गरेका प्रधानमन्त्री प्रचण्ड चिनियाँ राष्ट्रपती शी जिनपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र आफूबीच भएको संयुक्त भेटघाटलाई लिएर सबैभन्दा उत्साही देखिए।

धारणा

अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त त्रिपक्षीय भेटघाट संयोगवश भएपनि नेपाल र नेपालीका लागि राम्रो अवसर भएको बताए।

उनले भने," भारत चीन र नेपालका बीमा त्रिदेशीय साझेदारी भयो भने तपाईहरुले गर्दै गरेको आर्थिक विकासबाट हामीले फाइदा उठाउन चाहन्छौं भनेर मैले राखेपछि दुबै जना नेताले निकै सकारात्मक माहोलमा यो महत्वपूर्ण छ भन्ने भयो। सकारात्मक एउटा धारणा ब्यक्त भयो।"

प्रधानमन्त्री प्रचण्डका अनुसार उक्त भेटमा दुबै नेताले नेपालमा भइरहेको संविधान कार्यान्वयन, शान्ति प्रक्रिया लगायतका काममा आफूहरुको पूर्ण सहयोग रहने वचन दिएका थिए।

आफूहरु भएको ठाउँमा भारतीय प्रधानमन्त्री मोदी आउनु पूर्व चिनियाँ राष्ट्रपति शीसँग २० मिटेनजति दुईजनाबीच मात्रै कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले बताए।

जुन भेटघाटलाई उनले आफूले खोजेको जस्तो भेटको संज्ञा दिए।

सिधा सिधा

प्रधानमन्त्रीले भने," त्यहाँ त ढुंगो खोज्दा देवता मिलेजस्तो भयो। म बसेको ठाँउमा चीनका राष्ट्रपति आएपछि उहाँ नेपाल आउनुपर्छ भन्ने बारेमा, नेपालको विकासको आवश्यकताको बारेमा, शान्ति प्रकृया टुङग्याउने, संविधान टुङग्याउने बारेमा सिधा सिधा कुरा गर्ने अवसर भयो त्यो।"

त्यसबाहेक चिनियाँ राष्ट्रपति र भारतीय प्रधानमन्त्रीसँग दुई देशका प्रतिनिधिमण्डलबीच भएको भेटवार्ता पनि उपलब्धिमूलक भएको प्रधानमन्त्री प्रचण्डले बताए।

ती भेटघाटमा दुईपक्षीय सहयोगमा सञ्चालित परियोजनालाई समयबद्ध रुपमा सम्पन्न गर्ने कुरामा ध्यान दिने र विगतमा भएका सहमतिहरुको कार्यान्वयनमा जोड दिने सहमति भएको उनले बताए।

सार्क शिखर सम्मेलनका बारेमा राखिएको जिज्ञासामा प्रधानमन्त्री प्रचण्डले गोवामा आफुले भेटेका सार्क सदस्य मुलुकका नेताहरुसंग छिट्टै सम्मेलन गर्न वातावरण बनाउने भन्ने बारेमा आफूले कुरा गरेको र त्यसमा सक्रियतापूर्वक लागिरहेको बताए।

यसपटकको भ्रमणमा आफू र आफ्नो भ्रमण टोलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपाल र नेपालीको शिर ढाडो पार्ने काम गरेको दावी समेत प्रधानमन्त्रीले गरे।