'मोसुल नियन्त्रण प्रयासमा उपलब्धि'

  • 18 अक्टोबर 2016
तस्वीर कपीराइट AFP
Image caption विश्लेषकहरुले उक्त उपलब्धीलाई धेरै हदसम्म प्रतीकात्मक भनेका छन्।

इस्लामिक स्टेट आइएसका लडाकुहरुविरुद्ध मोसुल शहरमा निकै सोचविचार गरेर योजना बनाइएको आक्रमणको पहिलो दिन इराकको सरकारी फौज र कुर्द लडाकुले उल्लेखनीय प्रगति हासिल गरेको बताइएको छ।

सन् २०१४ को जुनमा विद्रोही समूह इस्लामिक स्टेटले आफ्नो कब्जामा लिएको मोसुल शहरलाई उनीहरुको नियन्त्रणबाट मुक्त पार्नका लागि इराकी सरकारी फौजसहितको विभिन्न समूहको गठबन्धनले सोमबार सबेरैबाट त्यहाँ सैन्य कारबाही शुरु गरेको थियो।

पेन्टागनका प्रवक्ता पिटर कुकले शुरुका संकेतले इराकी फौज आफ्नो उद्देश्य हासि ल गर्नका लागि निकै नजिक रहेको देखाएको बताए।

तयारी

महिनौंको तयारीपछि इराकको सरकारी फौज, कुर्दको पेशमेर्गा फौज र सुन्नी लडाकुहरुसहितको ३० हजार फौजले, इस्लामिक स्टेटको बलियो पकड रहेको मोसुल क्षेत्रमा सोमबार बिहानैबाट आक्रमण थालेका थिए।

आक्रमणका लागि अमेरिकी लडाकुविमानहरुले सघाइरहेका छन्।

पहिलो दिनको उद्देश्य कार्यतालिकाभन्दा अगावै सकिएको पेन्टागनले बताएको छ।

वासिङ्टनमा सञ्चारकर्मीसँग बोल्दै कुकले मोसुललाई मुक्त गर्ने योजना अनुसार शुरु भएको अभियान अपेक्षा गरेभन्दा राम्रोसँग अघि बढिरहेको बताए।

तर इस्लामिक स्टेट समूह आक्रमणविरुद्ध उत्रन्छ कि उत्रँदैन भन्ने हेर्न बाँकी नै रहेकोले लडाईँले केही समय लिनसक्नेप्रति उनले सचेत गराएका छन्।

जे परे पनि जुध्नका लागि इराकसँग क्षमता भएको भन्दै त्यसका लागि सहयोग गर्न आफूहरु र बाँकी गठबन्धन तयार रहेको कुकले बताए।

उद्देश्य

मोसुलमा चार हजार देखि आठ हजारको संख्यामा इस्लामिक स्टेटका लडाकु रहेको ठानिएको छ।

कारबाही थालेको शुरुका केही घण्टामा कुर्दहरुले धेरै गाउँ आफ्नो नियन्त्रणमा लिएका थिए।

सोमबार साँझ उनीहरुले २४ घण्टाभित्र नौ वटा गाउँ र दुई सय वर्ग किलोमिटरको क्षेत्र कब्जामा लिनेसहित आफ्ना सबै मुख्य उद्देश्यहरु पूरा भएको घोषणा गरेका थिए।

यसैबीच, संयुक्त राष्ट्रसंघले लडाईँका कारण विस्थापित भएका हुनसक्ने गैरसैनिकका लागि आपत्कालीन शिविर बनाउन उसले तीव्र गतिमा काम गरिरहेको बताएको छ।

चार लाख मानिसहरुलाई पुग्ने खाना र पाल आफुसँग रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ।