मोसुलबाट सर्वसाधारण भाग्दै

  • 19 अक्टोबर 2016
तस्वीर कपीराइट AP

इराकको मोसुल शहरलाई इस्लामिक स्टेटको कब्जाबाट छुटाउन इराकी सेना अघि बढिरहँदा हजारौं मानिस त्यो ठाउँ छोडेर भागेका छन्।

सेभ द चिल्ड्रेन सहायता संस्थाले बताए अनुसार करीब ५,००० मानिस विगत १० दिनमा सीमाना काटेर सिरिया पुगेका छन्।

उनीहरु अल-होल शरणार्थी शिविर पुगेका छन् जुन फोहोरी र भीडभाडयुक्त रहेको बताइएको छ।

मोसुल शहरमा १५ लाख सर्वसाधारण र ५,००० सम्म आईएसका लडाकु रहेको बताईन्छ।

'मानव श्रृजित संकट'

संयुक्त राष्ट्रसंघले पछिल्लो समयको सबैभन्दा ठूलो मानव श्रृजित मानवीय संकटको तयारी गरिरहेको बताएको छ।

ठूलो संख्यामा मानिसहरु मोसुल शहर छोडेर भाग्ने अनुमानका आधरमा मोसुलको दक्षिण पूर्व र उत्तरमा शरणार्थी शिविरहरु निर्माण हुँदैछन्।

आगामी केही हप्तामा कम्तीमा २ लाख मानिसहरु त्यसरी जाने अपेक्षा गरेको संयुक्त राष्ट्रसंघले बताएको छ।

सैनिक कारवाही जारी रहँदा सम्म शहरभित्रै रहनु सुरक्षित हुने इराकी सरकारले मोसुलका वासिन्दालाई बताएको छ।

आशंका

तस्वीर कपीराइट AP

आइएसका लडाकुहरुले शहर भित्र र बाहिर जाने सडकमा बम राखेको वा सडकनजिकै बन्दुकधारीहरु खटाएको इराकको आशंका छ।

तर आइएसले स्थानीय वासिन्दालाई मानव ढालका रुपमा प्रयोग गर्ने र रासायनिक हतियार प्रयोग गर्न सक्ने डर पनि रहेको छ।

रोयटर्स समाचार संस्थाले टेलिफोनमा सम्पर्क गरेका मोसुलका वासिन्दाले आइएसले उनीहरुलाई शहर छोड्न नदिने कोशिश गरिरहेको र उनीहरुलाई हवाइ हमलाको जोखिममा रहेका भवन तर्फ जान निर्देशित गरेको पुष्टि गरे।

मंगलबार अमेरिकी राष्ट्रपति बराक ओबामाले मोसुलका वासिन्दाहरुले सुरक्षित रुपमा शहर छोड्न पाउने कुरा सुनिश्चित गर्नु महत्वपूर्ण रहेको बताएका थिए।

क्षमता भन्दा बढी

मोसुल भित्र र वरिपरिका धेरै मानिस भागेर पश्चिमतर्फ अल-होल शरणार्थी शिविर लगायतका ठाउँमा पुगिसकेका छन्।

७,५०० मानिस अटाउने गरी बनेको अल-होल मा हाल ९,००० शरणार्थी छन्।

तर ती मध्ये केही सिरियाली हुनसक्ने संयुक्त राष्ट्रसंघको भनाइ छ।

पचास हजार जना अटाउने गरी शिविरलाई बढाईंदैछ, तर हाल भने शिविरमा १६ वटा मात्रै शौचालय भएको र सफा पानी नभएको सेभ द चिल्ड्रेनले बताएको छ।