संविधान संशोधन छठ सम्ममा: प्रचण्ड

  • 19 अक्टोबर 2016
Image caption भारत भ्रमणका बेला भएका आलोचनाको प्रधानमन्त्री प्रचण्डले बचाउ गरेका छन्

प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनको अन्तिम मस्यौदा तयार भैरहेको र छठसम्ममा त्यो पारित गर्ने लक्ष्य रहेको बताएका छन्।

संविधानसँग असन्तुष्ट रहँदै आएका पक्षसँग औपचारिक र अनौपचारिक कुराकानी भइरहेको प्रचण्डले बताए।

उनले छठसम्ममा प्रतिपक्ष सहित असन्तुष्ट पक्षहरुसँग समझदारी कायम गर्न प्रयत्न गरिने बताएका छन्।

उनी भन्छन्, "केही औपचारिक र केहि अनौपचारिक छलफल हुँदै हामी संविधान संशोधनको अन्तिमतिर अगाडि बढेका छौं छठसम्ममा संविधान संशोधन गर्ने कुरालाई सरकारले उच्च प्राथमिकता दिएको छ।"

'गौरवान्वित'

सरकारको काम कारवाही, एक महिना अघि सम्पन्न भारत भ्रमण र यसै साता सम्पन्न गोवा भ्रमणबारे बुधबार संसदलाई जानकारी गराउँदै प्रचण्डले त्यसबेला उठेका विभिन्न आलोचनाको बचाउ गरेका छन्।

स्वदेशका गतिविधिको संक्षिप्त 'रुपरेखा' प्रस्तुत गरेका उनको संबोधनको अधिकांश समय खासगरी भारत भ्रमणका बेलाका उनका गतिविधिमाथि आलोचना गर्नेहरुलाई उत्तर दिनमा प्रयोग भएको थियो।

एक महिना अघि सम्पन्न भारत भ्रमणका बेला जारी संयुक्त वक्तव्यको एउटा बुँदामा भारतीय सहयोग प्राप्त योजनाको अनुगमन संयुक्त रुपमा नेपाल सरकार र भारतीय राजदुतले गर्ने भन्ने थियो।

सरकारको ठाउँमा सरकारी अधिकारी भन्ने सच्च्याएर भारतीय प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए।

'उच्च कुटनीतिक मर्यादा'

त्यसबेला भारतीय उच्च अधिकारीहरुसँगको भेटमा प्रचण्ड पत्नीको भावभंगिमाबारे व्यापक आलोचना भएको थियो।

त्यसलाई उल्लेख नगरिकनै बचाउमा उनले भने, "भ्रमणका क्रममा हाम्रो तर्फबाट उच्च कुटनीतिक मर्यादा कायम राख्ने कार्य भएको कुरा समेत म स्पष्ट पार्न चाहन्छु।"

प्रधानमन्त्री भएको एक महिना पुग्दा नपुग्दै दुई छिमेकी मुलुकमा विशेष दूत पठाएकामा आलोचना गर्नेहरुलाई उनको जवाफ थियो- "भारत र चीनमा विशेष दूत पठाइ सम्बन्ध सुदृढ गर्नेतर्फ महत्वपूर्ण प्रयास गरेको भनी सम्बन्धित मुलुकबाट प्रशंसा भइरहेकोमा हाम्रो तर्फबाट यसको मर्मलाई किन आत्मसाथ गर्न नसकिएको होला।"

प्रचण्डले दुइ ठूला छिमेकी मुलुकका प्रधानमन्त्री र राष्ट्रपतिसँगको भेटबाट गौरवान्वित भएको कुरा सगर्व उल्लेख गरेका प्रधानमन्त्री प्रचण्डले करिब चालीस मिनेट लामो संबोधनमा कम्तिमा तीस पटक भारतको नाम लिएका थिए।