पूर्व राजाको चेतावनी

  • 20 अक्टोबर 2016
पूर्व राजा
Image caption पूर्व राजाले लिखित मन्तव्यको धेरै समय हिन्दु धर्मको चर्चा गर्नमा खर्चिएका थिए

पूर्व राजा ज्ञानेन्द्र शाहले केही वर्ष यताका राजनीतिक गतिविधि अभिशाप सिद्ध भएको भन्दै निषेधको राजनीतिले विद्रोह जन्माउन सक्ने चेतावनी दिएका छन्।

बिहीबार काठमाण्डूमा अन्तर्राष्ट्रिय विराट हिन्दु सम्मेलनको उद्घाट्न समारोहमा बोल्दै उनले यस्तो परिस्थिति आउनुको कारणबारे प्रश्न गर्ने बेला आएको बताए।

सम्मेलनलाई सम्बोधन गरेका नेपाल तथा भारतका धर्मगुरुहरुले नेपाललाई हिन्दुराष्ट्रको रुपमा घोष्णा गरिनु पर्ने माग गरेका थिए।

चर्चा

गणतन्त्र स्थापनापछि सम्भवत:पहिलो पटक सार्वजनिक समारोहमा प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका पूर्व राजा ज्ञानेन्द्र शाहले आफ्नो लिखित मन्तव्यको धेरै समय हिन्दु धर्मको चर्चा गर्नमा खर्चिएका थिए।

उनले धर्म, संस्कृतिमाथि कालो बादल मडारिएको भन्दै परम्परागत धर्म, संस्कृति र सभ्यतालाई पुनर्जागृत गराउन एकताबद्ध हुनुपर्ने खाँचो देखापरेको बताए।

आफ्नो सम्बोधनमा कसैको नाम उल्लेख नगरी पछिल्ला राजनीतिक घटनाक्रमबारे उनले आफ्नो धारणा सुनाएका थिएन।

उनले भने "राष्ट्रको समग्र परिस्थिति र बितेका केही वर्षका राजनीतिक गतिविधि समेतलाई हेर्दा चरम वाह्य हस्तक्षेप, जनतामा देखिएको निराशा, गन्तव्यहीन यात्रा हाम्रा निम्ति अभिशाप सिद्ध भएका छन्।"

वर्तमान परिस्थिति जटिल र विषम रहेको भन्दै उनले यस्तो अवस्था हुनुको कारण र श्रृजना गर्ने को हुन् भन्ने खोजेर जनताले प्रश्न गर्नु पर्ने बेला आएको पनि बताए।

विगतमा बेला बेला आफूलाई निषेध गरिएको जस्ता अभिव्यक्ति दिने गरेका पूर्वराजाले निषेधको राजनीति अगाडि बढाइए त्यसले विद्रोह जन्माउने चेतावनी पनि दिए।

निषेधको राजनीति

"व्यवहारमा निषेधको राजनीति अगाडी बढाइन्छ भने त्यसले राष्ट्रमा असन्तुलन निम्त्याउँदछ, असन्तुलनले उपेक्षा जन्माउँछ। उपेक्षितहरुमा विद्रोह जन्मिन सक्दछ।"

सम्मेलनमा सहभागी हुन भारतबाट आएका जगतगुरु शंकराचार्यले नेपाललाई विश्वकै एकमात्र हिन्दु राष्ट्र बनाइनु पर्ने माग दोहो-याएका थिए।

उनले भने "जसरी यो नेपाल हिन्दु राष्ट्रको रुपमा पूरा विश्वमा प्रसिद्ध छ, जसरी नेपाल एकमात्रै हिन्दुराष्ट्र थियो, अरु थिएनन्.... त्यसरी नै अब फेरि नेपाललाई हिन्दु राष्ट्र नै बनाउनु पर्छ। नेपाल हिन्दु राष्ट्र थियो, छ र आगामी दिनमा पनि रहनु पर्छ।"

भारतीय सत्तारुढ घटक बीजेपीका सांसद समेत रहेका योगी आदित्यनाथले पनि विश्वका कतिपय सम्पन्न लोकतान्त्रिक मुलुकहरुले राजतन्त्र जोगाएर राखेको भन्दै त्यसको अनुकरण नेपालमा पनि हुनुपर्ने बताएका थिए।

विश्व भरिका कतिपय हिन्दु धर्मावलम्वीहरु जम्मा भएको भनिएको उक्त सम्मेलनको उदघाट्न समारोहमा हिन्दु राष्ट्रको मुद्दा उठाउंदै आएका कतिपय प्रमुख नेताहरु भने देखिएनन्।