क्लिन्टन र ट्रम्पबीच अन्तिम प्रत्यक्ष बहस

  • 20 अक्टोबर 2016

राष्ट्रपति चुनावको तिक्ततापूर्ण प्रचार अभियानका क्रममा दुई उम्मेदवार डोनाल्ड ट्रम्प र हिलरी क्लिन्टनबीच अहिले तेस्रो तथा अन्तिम प्रत्यक्ष बहस भइरहेको छ।

तिक्ततापूर्ण प्रचार अभियानका क्रममा दुई उम्मेदवारबीचको जारी बहसमा अर्थतन्त्र, सर्वोच्च अदालत तथा राष्ट्रपति हुन एक अर्काको योग्यता लगायतका विषयबारे चर्चा भइरहेको छ।

बहसको शुरुवातमा दुई उम्मेदवारले बन्दुक स्वामित्व नियन्त्रणबारे चर्चा गरे।

क्लिन्टनले यसको नियन्त्रण गर्न पृष्ठभूमि अध्ययन गरेर मात्र विक्री गर्ने नीति ल्याउन खोजेको बताइन्।

ट्रम्पले भने बन्दुक स्वामित्वबारे अमेरिकी संविधानको दोस्रो संशोधनको रक्षा गर्ने बताए।

अवसर

लास भेगास शहरमा जारी सो बहसले सुस्ताउँदै गएको आफ्नो अभियान उकास्ने अवसर ट्रम्पलाई दिन सक्छ।

हालैका दिनहरुमा महिलालाई होच्याउने किसिमका उनका टिप्पणी तथा यौन दुर्व्यवहारका श्रृंखलावद्ध आरोप उनले खेपिरहेका छन्।

क्लिन्टनले चाहिं चुहाइएका उनका इमेलमा देखिएका उनले वालस्ट्रिट ब्याँक तथा व्यापारीहरुका निम्ति दिएका बन्द कोठाका सम्बोधनहरुको विवाद झेल्दैछिन्।

पछिल्ला मत सर्वेक्षणहरुले उनीविरुद्ध लागेका यौन दुर्व्यवहारका आरोपहरुका कारण ट्रम्प चुनावका लागि महत्वपूर्ण ठानिने राज्यहरु पछि पर्दै गएको देखाएका छन्।

केही दिन यता उनले निर्वाचन प्रक्रियाविरुद्ध नै गुनासो गर्न थालेका छन्।

आफूविरुद्ध पक्का धाँधली हुने र व्यापकहरुपमा फर्जी मतदाता परिचालित हुने उनले भन्दै आएका छन्।

उनको सो टिप्पणीको राष्ट्रपति ओबामाले कडा खण्डन गरेका छन्।

यस्ता अनावश्यक रोइकराइ बन्द गर्न ओबामाले उनलाई भनेका छन्।

प्रश्न

तर क्लिन्टनले पनि उनको निजी इमेल प्रयोगको मुद्दाबारे निकै धेरै प्रश्न खेपेकी छिन् जसले उनलाई कयौँ अमेरिकी मतदाताको नजर अलोकप्रिय बनाएको छ।

अमेरिकी मतदाताले नोभेम्बर ८ मा मत खसाल्नेछन्।

नेभाडा विश्वविद्यालयमा आयोजना भएको बिहीबारको यस बहसलाई दशौं लाख मानिसले प्रत्यक्ष हेर्दैछन्।

फक्स न्यूजका क्रिस वालेसले यसको सञ्चालन गर्दैछन्।

बहसका निम्ति छ वटा मूल विषयवस्तु तोकिएका छन्।

स्वास्थ्य र सामाजिक दायित्व, आप्रवासन, अर्थतन्त्र, सर्वोच्च अदालत र राष्ट्रपति हुन उनीहरुको योग्यता जस्ता विषयमा बहस केन्द्रित छ।