महाभियोगमाथि छलफलको मिति तय हुंदै

  • 20 अक्टोबर 2016
ca तस्वीर कपीराइट Mahesh Acharya
Image caption महाभियोग अनुमोदनका लागि संसदको दुई तिहाइ अर्थात् ३९७ जना सदस्यको साथ चाहिनेछ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसदमा दर्ता महाभियोग प्रस्तावमाथि छलफल गर्ने मिति बिहीबार संसदले तय गर्ने अधिकारीहरुले बताएका छन्।

संसदहरुको विश्व निकाय आइपीयुको सम्मेलनमा भाग लिन सभामुख ओनसरी घर्ती शुक्रबार जिनेभातर्फ जाने र कात्तिक १२ गतेमात्रै स्वदेश फर्कने भएकाले उनले बिहीबारै छलफलको दिन र समय तय गर्न लागिएको बुझिएको छ।

छलफल प्रारम्भ भएपछि कति समयभित्र प्रक्रिया टुंगोमा पुग्छ भन्नेबारे अहिले प्रष्ट भइसकेको छैन।

संवैधानिक व्यवस्था

बुधबार एमाले र माओवादी केन्द्रका १५७ जना सांसदले कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए।

महाभियोग प्रस्तावका समर्थक एवम् एमालेका प्रमुख सचेतक भानुभक्त ढकालका अनुसार प्रस्ताव दर्ता भएको सात दिनभित्र छलफल चलाउनुपर्ने व्यवस्था रहेकाले बिहीबारै छलफल सुरु हुन सक्नेछ।

उनले भने,‘सभामुख जिनेभा जाने भएकाले एक साता त संसद यसै नै स्थगित हुनेछ। त्यसैले आज (बिहीबार) नै संसदमा छलफल प्रारम्भ हुने र महाभियोग सिफारिस समितिमा पठाउनेसम्मको निर्णय पनि हुन सक्छ’।

संसदले बुधबारमात्रै महाभियोग सिफारिस समिति गठन गरेको थियो।

संविधानको धारा १०१ को उपधारा ३ बमोजिम कुनै व्यक्ति (संवैधानिक निकायका प्रमुख वा पदाधिकारी)को विरुद्ध महाभियोगको प्रस्ताव पेश गर्ने आधार र कारण विद्यमान भए, नभएको छानविन गरी सिफारिस गर्ने प्रयोजनका लागि संसदमा महाभियोग सिफारिस समिति रहने परिकल्पना गरिएको छ।

ढकालका अनुसार, महाभियोग प्रक्रिया सम्भवत: तिहारपछि टुंगोमा पुग्नेछ।

अपेक्षा

महाभियोग प्रक्रिया प्रारम्भ भएयता बुधबारदेखि नै कार्कीले कुनै कार्यसम्पादन गर्न पाउने छैनन्।

महाभियोग प्रस्ताव अनुमोदनका लागि संसदमा हाल कायम सांसद संख्याको दुई तिहाइ मत आवश्यक पर्नेछ।

६०१ सदस्यीय संसदमा अहिले ५९५ मात्रै सांसद छन्।

त्यसैले महाभियोग अनुमोदन हुन ३९७ सांसदको समर्थन आवश्यक पर्नेछ।

त्यसका लागि प्रस्ताव दर्ता गर्दा सहभागी नभएको सबैभन्दा ठूलो दल कांग्रेसको पनि साथ चाहिनेछ।

तर जानकारहरुले कांग्रेससहितको छलफलपछि प्रस्ताव दर्ता गरिएकाले उसले अनुमोदनमा सघाउने अपेक्षा गरेका छन्।