मोसुलबारे इराकी प्रधानमन्त्री आशावादी

  • 20 अक्टोबर 2016
तस्वीर कपीराइट AFP
Image caption इराकी सेना दक्षिणबाट अगाडि बढिरहेको छ र विशेष फौजपनि लडाईंमा सहभागी छ

इराकका प्रधानमन्त्री हैदर अल अबादीले मोसुल शहरमाथिको नियन्त्रण फिर्ता लिन राखिएको लक्ष्य योजना गरिएभन्दा पनि द्रूत गतिमा अगाडि बढिरहेको बताएका छन्।

इराकको विशेष फौज आक्रमणमा सहभागी भएको छ।

मोसुलको उत्तरस्थित बर्टाला शहरतर्फ हवाइ कारवाही गरिरहेका उनीहरुलाई अमेरिकी नेतृत्वको गठबन्धनको समर्थन प्राप्त छ।

इराकी सरकारको समर्थन गरेका कुर्द लडाकुहरुले पनि अझ उत्तरतिर बृहत् कारवाही शुरु गरेका छन्।

विशेष फौज

इराकी प्रधानमन्त्रीले तथाकथित इस्लामिक स्टेट लडाकुहरुबाट मोसुल शहर फिर्ता लिने काम योजना गरेभन्दा द्रूत गतिमा अगाडि बढिरहेको बताए।

प्रधानमन्त्री अबादीले इराकी र कुर्द फौजबीच लक्ष्य एउटै रहेको र दुईबीच मैत्रीपूर्ण सम्बन्ध रहेको प्रष्ट भएको पनि जनाए।

कुर्द लडाकुहरुले मोसुलको पूर्व र उत्तरी क्षेत्रमा वृहत कारवाही शुरु गरेपछि अबादीको पछिल्लो भनाइ आएको हो।

इराकी सेना दक्षिणबाट अगाडि बढिरहेको छ र विशेष फौजपनि लडाईंमा सहभागी भएको छ।

मोसुल गएको झण्डै अढाइ वर्षदेखि आइएस लडाकुको नियन्त्रणमा छ।

मोसुलमाथिको नियन्त्रण फिर्ता लिने काम यही सोमबारदेखि शुरु भएको हो।

अहिले पनि पन्ध्र लाख नागरिक मोसुल शहर भित्रै रहेको अनुमान गरिएको छ।

अभाव

त्यहाँका वासिन्दाले शहरभित्र आधारभूत सामग्रीहरुको अभाव हुन थालेको बताएका छन्।

केही आइएस नेताहरु मोसुलबाट भागेको, तर अहिले पनि करीब पाँचहजार जति आइएस लडाकुहरु शहरभित्रै रहेको ठानिएको छ।

इराकी प्रधानमन्त्रीले मोसुलको भविष्यबारे प्यारिसमा भएको एक बैठकलाई भिडियो सम्बोधन गर्दै उक्त कुरा बताएका हुनन्।

बैठकको आतिथ्य गरिरहेका फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ ओलाँदले आइएस लडाकुहरु आइएस बहुल सिरियाको रक्कातर्फ भागेको र तिनलाई त्यसो गर्न रोक्नुपर्ने चेतावनी दिए।

आइएस नेता अबु बकर अल बगदादी कहाँछन् स्पष्ट छैन।

केही रिपोर्टहरुले उनी मोसुलमै रहेको बताएका छन् भने कसैले उनले उत्तरी इराकी शहर छोडिसकेको बताएका छन्।