उद्धार योजना त्याग्न राष्ट्र संघ वाध्य

  • 21 अक्टोबर 2016
बालक
Image caption राष्ट्र संघले घाइते तथा बिरामीहरुलाई उद्धार गर्ने योजना बनाएको थियो

सिरियाली शहर अलेप्पोको विद्रोही नियन्त्रित इलाकाबाट शुक्रबार घाइते सर्वसाधारणलाई उद्धार गर्ने योजना त्याग्न संयुक्त राष्ट्र संघ वाध्य भएको छ।

एकजना राष्ट्र संघीय अधिकारी डेभीड स्वानसनले विभिन्न समूहहरुबीच सहमति अहिले पनि आवश्यक परेको बताए। उनले परिस्थिति असाध्यै कठीन रहेको पनि जनाए। अलेप्पोमा रुसी र सिरियाली विमानहरुले बमबारी रोक्ने भनेको छोटो समय उपयोग गर्ने अपेक्षामा राष्ट्र संघ थियो।

'वधशाला'

राष्ट्र संघीय मानव अधिकार आयुक्त जेयद राद अल हुसेनले जिनिभामा बसेको एक आपत्कालिन बैठकमा अलेप्पो वधशाला बनेको बताए। उनले सिरियामा ऐतिहासिक स्वरुप लिने खालका अपराधहरु भइरहेको पनि जनाए।

तस्वीर कपीराइट AFP

उनले भने, "सदियौंको सभ्यता बोकेको मोहक र प्राचीन शहर अलेप्पो आज बधशाला बनेको छ। निर्दयी त्रासदी र दुर्दान्त बनेको अलेप्पोमा गर्भवती महिलाहरुलाई जानाजान निशाना बनाइएको छ र निर्जीव बालबालिकाहरुका शव फोहोरको थुप्रोमा लडिरहेका छन्।"

अल हुसेनले राष्ट्रसंघीय कर्मचारीहरुले अलेप्पोमा सबै पक्षले अन्तर्राष्ट्रिय मानवीय कानुन उल्लंघन गरेका तथ्यहरुको रेकर्ड संकलन गरेको पनि बताए।

एक महिना अघि शुरु भएको रुसी हवाइ कारवाहीको मदत लिएर सिरियाली सरकारले शुरु गरेको लडाइमा करीब पाँचसय जनाको ज्यान गएको र झण्डै दुई हजार घाइते भएको बताइएको छ।

सिरियाली सरकारले, उसकै शब्दमा, आतंकवादीहरुका कारण आम सर्वसाधारण मर्कामा परेको बताएको छ।

कारवाही

यसैबीच रुसी रक्षा मन्त्रालयले अलेप्पोमा स्थानीय समय अनुसार शनिबार बेलुकासम्मका लागि हवाइ कारवाही रोकिने जनाएको छ।

विद्रोही र सर्वसाधारणलाई शहर छाडन सहयोग मिलोस् भनेर त्यसो गरिएको बताइएको थियो।

तर विद्रोही समूहहरुले त्यसो गर्नु आत्मसमर्पण हुने भन्दै रुसी प्रस्ताव अस्वीकार गरेका छन्।