अमेरिकी रक्षामन्त्री कार्टर इराकमा

  • 22 अक्टोबर 2016
तस्वीर कपीराइट Reuters

इराकी शहर मोसुललाई इस्लामिक स्टेट समूहको नियन्त्रणबाट मुक्त गराउन लडाई जारी रहेकै बेला अमेरिकी रक्षामन्त्री एश कार्टर इराक पुगेका छन्।

सबैभन्दा ठूलो संघर्ष मोसुलदेखि करिब २० किलोमिटर टाढा पर्ने काराकोश शहरमा भइरहेको छ, जहाँ सरकारी फौजले राष्ट्रिय झण्डा फहराएको छ।

तर सरकारी फौजले अझै आइएस जिहादीहरुबाट त्यहाँ प्रतिरोधको सामना गर्नुपरेको छ।

अघि बढिरहेका सेनालाई लक्षित गरी कैयौँ आत्मघाती आक्रमण गरिएका छन्।

प्रत्याक्रमण

मोसुलदेखि दक्षिणमा पर्ने मिश्राकस्थित एउटा सल्फर कारखानामा आइएस लडाकुले आक्रमण गरेपछि त्यहाँबाट चलेको विषाक्तयुक्त धुँवा इराकका मुख्य सैन्य अखडासम्म पुगेको छ।

जसका कारण पूर्वसावधानीस्वरुप सेनाले मास्कको प्रयोग गर्नुपरेको छ।

इराक पुगेका अमेरिकी रक्षामन्त्री कार्टरले मोसुलमा जारी कारबाहीबारे बुझ्नुका साथै इराकी प्रधानमन्त्री हैदर अल अबादीसँग भेटवार्ता गर्नेछन्।

तस्वीर कपीराइट AFP

कार्टरले आइएसविरुद्धको कारबाहीमा प्राप्त उपलब्धिको समीक्षा गर्दैछन्।

इराकको चिन्तामाझ मोसुल कारबाहीमा अंकारालाई पनि सहभागी गर्ने उद्देश्यसहित टर्कीका नेतासँग भेटवार्ता गरेर कार्टर इराक पुगेका हुन्।

खाली

कमाण्डरहरुका अनुसार इराकी फौज अहिले काराकोश नगरतर्फ बढिरहेको छ।

द्वन्द्व शुरु हुनुअघि काराकोश इराकको सबैभन्दा ठूलो ईसाई शहर थियो तर अहिले धेरै हदसम्म खाली खाली छ।

मोसुलमाथि कब्जा जमाउने क्रममा लडाकुहरुले जमिनमुनि विद्युतीय धराप ओछ्याएका थिए।

लडाकुहरुले यत्रतत्र आत्मघाती हमला गरिरहेका छन् र विस्फोटक पदार्थले भरिएका गाडीहरु सरकारी उपस्थिति रहेको क्षेत्रतिर तीव्र गतिमा गुडारहेका छन्।

किरकुरमा शुक्रबार भएको हमला सकिएको जस्तो देखिन्छ र चिकित्सा स्रोतका अनुसार कम्तीमा ३५ जनाको ज्यान गएको छ भने १२० जना घाइते भएका छन्।